
वान एक्स बेटमार्फत चलेको अनलाइन सट्टेबाजी धन्दामा प्रहरी नेपालस्थित उक्त धन्दाको मुख्य एजेन्टसम्म पुग्न सकेको छैन ।
जेठ ३१ गते केही आरोपीलाई पक्राउ गरेपछि आयोजित पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज केसीले अझै माथिका एजेन्टहरूलाई पक्राउ गर्ने बताएका थिए ।
‘हामीले अहिले मुख्य–मुख्य एजेन्टहरूलाई पक्राउ गरेका छौं । यो भन्दा माथि भएका एजेन्टलाई छिट्टै पक्राउ गर्छौं,’ एसएसपी केसीले पत्रकार सम्मेलनमा भनेका थिए ।
पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको र उनी मुख्यमध्येका एक एजेन्ट रहेको प्रहरीले बताएको थियो ।
२ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेले एकाउन्टेनको रूपमा काम गर्ने भएकाले उनी पनि ठूलामध्येको एक एजेन्ट भएको प्रहरीको दाबी थियो ।
प्रहरीले दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताल र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।
श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको थियो ।
५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्दलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको थियो ।
५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको प्रहरीले दाबी गरेको थियो ।
उनीहरूभन्दा माथि रहेका एजेन्टलाई पक्राउ गर्ने दाबी गरेको अपराध अनुसन्धान कार्यालयले अहिले भने उनीहरूभन्दा माथिल्लो एजेन्ट नदेखिएको बताएको छ ।
‘हामीले टप एजेन्टलाई पक्राउ गरेर सार्वजनिक गरेका छौं । त्यसभन्दा माथि को–को छन् भनेर खोजिरहेका छौं, तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ एसएसपी केसीले भने ।
उनका अनुसार प्रहरी अब स–साना कारोबार गर्ने एजेन्टहरूलाई पनि पक्राउ गर्नेतर्फ लागेको छ । तर, साना एजेन्ट कति छन् र खेल्ने कति छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीसँग छैन ।
‘खेल्ने र खेलाउने कति छन् भन्न सकिने अवस्था छैन । यो ठूलो समूहमा छ । वान एक्स बेटको माथिल्लो निकायमा हाम्रो पहुँच पनि छैन,’ एसएसपी केसीले भने, ‘किनकि यो जुन देशबाट सञ्चालन भएको छ त्यो देशमा कानूनीरूपमा मान्यता पाएको छ, हामीले माग्दा तथ्याङ्क दिने अवस्था हुँदैन ।’
प्रहरीले वान एक्स बेट खेलाउने र खेल्ने कतिपयलाई निगरानीमा राखेको छ । उनीहरूको प्रमाण फेला नपारेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
‘कतिपय व्यक्तिलाई हामीले निगरानीमा राखेका छौं, तर उनीहरूविरुद्ध बलिया प्रमाण नभेटिएकाले पक्राउ गर्न सकेका छैनौं,’ एसएसपी केसीले लोकान्तरसँग भने ।
प्रहरीले ५ जनालाई सार्वजनिक गरेको अर्को दिन अर्थात जेठ ३२ गते ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
मरिचमान श्रेष्ठ (बल्छी धुब्रे)सहित वान एक्स बेटको ‘प्रामो कोड’ प्रयोग गर्न विज्ञापन गरेको आरोपमा पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका थिए ।
उनीहरूले विज्ञापन र 'प्रोमो कोड'बापत २ लाखदेखि ४० लाख रुपैयाँसम्म बुझेको पाइएको प्रहरीले जनाएको छ । अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।