
ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ ।
बाढीपहिरोका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो ।
गत शुक्रवार, शनिवार र आइतवार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजंघा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजंघा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत १२२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजंघा गाउँपालिकाका शिक्षा शाखाले जनाएको । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ ।
बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंघा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए ।
सिरिजंघा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिरोका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ ।
सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा ३ हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए ।
बाढीपहिरोका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिवार राति गएको बाढीपहिराले बगाएका ४ जनामध्ये एकै घरपरिवारका ३ जना अझै बेपत्ता रहेका छन् । १ जनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतवार बिहान पहिरोले ३ जनालाई बगाएको थियो । एक घरका बुवाछोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।