
शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी भर्सन नेपालमा रिलिज नहुने भएको छ ।
यो फिल्मको हिन्दी भर्सन भारतमा मात्रै र नेपाली भर्सन नेपालमा प्रदर्शन हुने निर्माता शर्मिला पाण्डेले जानकारी दिइन् ।
फिल्म भारतमा पनि शुक्रवारबाटै प्रदर्शनको तयारीमा छ । यसअघि हिन्दी भर्सन नेपालमा पनि प्रदर्शन गरिने चर्चा रहेपनि अन्ततः नेपालमा नेपाली भर्सन मात्रै प्रदर्शनमा आउने भएको हो ।
सुरज पाण्डेको निर्देशन रहेको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तु वाचन गर्छ ।
फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ । दीपेन्द्र के. खनाल यस फिल्मका लेखक हुन् ।
निर्माण टिमले भारतको मुम्बई र दिल्ली पुगेर समेत फिल्मको प्रचारप्रसार गरेको थियो ।