
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ ।
तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यावहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक संघसंगठन विरोध गर्दै आएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगर प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिवार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली २०७६ को नियम २७ (ङ) लाई निष्क्रिय गर्ने, आगामी नगर सभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक संघ संगठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ ।
नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलन समेत फिर्ता भएको शिक्षकले बताएका छन् ।
छलफलमा नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, वडा नम्बर ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मा, नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक महासंघ खोटाङका सहअध्यक्ष झमप्रसाद आचार्य, नेपाल शिक्षक संघका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष नूरकाजी सैंजू, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक संघ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको उपस्थिति रहेको थियो । सहमति पत्रमा वडा नम्बर १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक–पटक विरोध गर्दै आएका थिए ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक संघ/संगठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगर सभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिवार नगर प्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो ।