२८ असार २०८३, आइतबार

रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

साउन १, २०८०
चितवन
रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ ।

कोषबाट गत १० महिनामा ४०  नगरवासीले सेवा लिएका छन् ।

अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाख रुपैयाँको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । 

कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९/८० को भदौ महिनाबाट कोष सञ्चालनमा ल्याएको थियो । कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ । 

आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगर प्रमुख सापकोटाले बताए । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति २० हजारसम्म प्रदान गरिएको उनले बताए । १० हजारभन्दा बढी पाउने बिरामीको संख्या ३ जना रहेको जनाउँदै नगर प्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताए ।

कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति १० हजार र ३ बिरामीको उपचारको लागि प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले कोषबाट प्रदान गरिइएको छ । कोष सञ्चालनमा आएपछि हालसम्म २ लाख ५० हजार खर्च भएको उनले बताए । ‘आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन,’ उनले भने, ‘गरीब तथा विपन्न नगरवासीको उपचारको लागि कोष स्थापना गरेका हौं ।’ 

नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गत आव २०७९/८० मा ३ हजार २ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बीमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको नगर प्रमुख सापकोटाको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्