२५ जेठ २०८३, सोमबार

देवघाटधाममा स्नान गर्नेको भीड

साउन १, २०८०
नवलपुर
देवघाटधाममा स्नान गर्नेको भीड

पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । 

आज साउनको पहिलो दिन सोमवार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने संक्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।

भोलिदेखि मलमास शुरू हुने भएका कारण पनि आज पहिलो सोमवार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनले मेलामा सुरक्षा लगायतका व्यवस्थापनका काम गरिएको बताए ।

साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व शुरू हुने भएकाले पनि यसको महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्ति फल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायो लगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।

औंसी तिथि र सोमवार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमवारे औंसी समेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमवार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिक कार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक संघसंस्थाले साउने संक्रान्ति सोमवार परेकाले संक्रान्तिको दिनबाहेक अन्य सोमवार खासै महत्त्व नभएको बताएका छन् । मलमास शुरू हुनुअगाडि असार र साउनको १–१ सोमवार र मलमास सकिएपछि भदौको २ वटा सोमवारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने संक्रान्तिपछि साउन महिनाका ४ सोमवारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्