
आन्तरिक वायुसेवा कम्पनीहरूले १ साउनदेखि करको बहानामा हवाई भाडा बढाएका छन् । सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) अनिवार्य तिर्नुपर्ने व्यवस्था गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले १३ प्रतिशतले नै हवाई भाडा वृद्धि गरेका हुन् ।
आन्तरिक वायुसेवाहरूले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकेको भाडादर र इन्धन शुल्कमा १३ प्रतिशतले भ्याट जोडेर १ साउनदेखि नै टिकट बिक्री गरिरहेको छन् ।
वायुसेवा कम्पनीहरूलाई प्राधिकरणले न्यूनतम्, नर्मल र अधिकतम् भाडादरको सीमा तोकिदिएको हुन्छ, सोही सीमामा रहेर टिकटको मूल्य तोक्ने गरेका छन् । तर, वायुसेवा कम्पनीले नर्मल भाडादर भन्दा बढी र महंगो भाडादरमा नै बढी टिकट बिक्री गर्ने गरेका छन् । यस्तो भाडादर लिन पाउने अधिकतम् सीमासम्म नै पुगेर भाडा लिइरहेका छन् । वायुसेवा कम्पनीले टिकटमै जोडेर थप ५ सय रुपैयाँसम्म लिन्छन् ।
१ साउनपछि आन्तरिक वायुसेवाले अधिकतम् भाडा र इन्धन शुल्क दुवैमा १३ प्रतिशत भ्याट जोडेर टिकट सार्वजनिक गर्दा उपभोक्तालाई भने हवाई भाडा महंगो परेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले वायुसेवा कम्पनीले आफूले पाउने गरी कुनै गन्तव्यमा पनि भाडा नबढाइएको र सरकारले तिर्नुपर्ने कर मात्र टिकटमा जोडिएको बताए ।
कंडेलले भने, ‘वायुसेवा कम्पनीलाई सरकारले लिन पाउने भाडाको न्यूनतम् र अधिकतम् सीमा तोकिएको छ । सोही सीमाभन्दा एक रुपैयाँ पनि बढी कुनै गन्तव्यमा लिने गरिएको छैन । बढी माग आउने र लागत नै बढी पर्ने गन्तव्यमा अधिकतम् सीमानजिक भाडा पुग्नुलाई भने सामान्य मान्नुपर्ने हुन्छ ।’
वायुसेवा कम्पनीहरूले १३ प्रतिशत भ्याट थपेर टिकटको मूल्य सार्वजनिक गर्दा सबैभन्दा महंगो काठमाडौंबाट धनगढीको यात्राका लागि छ ।
यो गन्तव्यमा नर्मल भाडा ११ हजार ५ सय ८५ रुपैयाँ छ । यो भाडादरभन्दा बढी अधिकतम् लिन पाउने सीमा १७ हजार ९७० रुपैयाँसम्म आन्तरिक वायुसेवाले लिइरहेका छन् । आन्तरिक उडानमा यस्तो भाडादर अन्तर्राष्ट्रिय उडानबाट यात्रु हुने काठमाडौं–दिल्लीको भन्दा महंगो हो ।
काठमाडौं–दिल्लीको टिकट शुक्रवारका लागि ११ हजार २०६ रुपैयाँमा उपलब्ध छ । एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काका अनुसार वायुसेवा निगमको यो दरमा उपलब्ध हुने टिकटबाहेक अन्य वायुसेवाबाट पनि १२/१५ हजार रुपैयाँमा काठमाडौंबाट दिल्ली जाने टिकट पाइन्छ । तर, आन्तरिक उडानकै गन्तव्य धनगढी जान भने नर्मल भाडादर नै १८ हजारनजिक पुगेको छ ।
वायुसेवा कम्पनीले धनगढीका लागि सीमित सीटमा न्यूनतम् ७/८ हजारमा प्रवर्धनात्मक भाडा राख्ने गरेका छन् । यो गन्तव्यमा जान १२ हजार रुपैयाँ सामान्य अवस्थामा नै लाग्ने गर्छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने आर्थिक ऐनले गरेको व्यवस्थापछि आन्तरिक राजस्व विभागको पत्रबाट वायुसेवा कम्पनीले थप १३ प्रतिशत भाडा यात्रुबाट लिन थालेको बताए ।
भाडादर औपचारिक रूपमा नबढेको भए पनि करकै कारण वायुसेवाले टिकटमा मूल्य बढाएको उनको भनाइ छ ।
अहिले वायुसेवाले बढाएको टिकटको मूल्य कर तिर्नुपरेका कारण थपिएको र प्राधिकरणको सिफारिशबेगर भाडादर बढाउन नमिल्ने उनको जिकिर छ ।