११ साउन २०८३, सोमबार
अपराधका अनेक स्वरूप

एक वर्षमै काठमाडौंमा घर ठड्याउने ‘प्लान’मा युवती प्रयोग गरी ‘हनी ट्र्याप’को धन्दा

साउन १९, २०८०
काठमाडौं
एक वर्षमै काठमाडौंमा घर ठड्याउने ‘प्लान’मा युवती प्रयोग गरी ‘हनी ट्र्याप’को धन्दा

ललितपुरमा गिट्टी–बालुवाको व्यापार गर्दै आएका श्याम (नाम परिवर्तन)लाई केही दिनअगाडि अनिता मगरको नामबाट फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनले ४/५ दिनपछि ‘एक्सेप्ट’ गरे । ‘हेलो ! आराम हुनुहुन्छ ? चिन्नुभएन ?’ अनिताले ‘म्यासेज’ पठाइन् । 

‘नाइँ, चिनिनँ,’ श्यामले जवाफ फर्काए । फेरि म्यासेज आयो, ‘हाम्रो भेट भएको थियो, तपाईंले भुल्नुभएछ’ ।

‘भेट भएकै छैन, मैले चिन्दिनँ,’ श्यामले जवाफ फर्काए । निरन्तर म्यासेज आउन थालेपछि उनी पनि कुरा गर्न थाले ।

अनिताले श्यामको परिवार, उनले चढ्ने गाडी, घरपरिवारलगायत सबै कुरा बताएपछि विश्वास गरेर कुराकानी गर्न थालेको श्यामले प्रहरीलाई बताएका छन् । 

‘उनीहरूले टार्गेट गरेको व्यक्तिको सबै व्यक्तिगत विवरण खोजेर ट्र्यापमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने । 

कुराकानीकै क्रममा काठमाडौंको एउटा रेस्टुरेन्टमा कफी पिए । त्यसको केही दिनपछि अनिताले श्यामलाई घुम्न जाने अफर गरिन् । 

‘चिनजान भयो, लौ शनिवार घुम्न जाऊँ न त,’ अनिताले यति भनेपछि श्याम पनि तयार भए । त्यसपछि उनीहरू गोदावरी जाने तय भयो । 

बिहानको करीब १० बजे गाडी लिएर श्याम अनितालाई लिन सातदोबाटो पुगे । उनले गोदावरीको एक होटलमा लगिन् । 

त्यहाँ ४५०० रुपैयाँ कोठा भाडा तिर्न लगाइन् ।

‘अनिताले श्यामलाई ४ हजार ५ सय रुपैयाँ कोठा भाडा तिर्न लगाएको देखिएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने । 

कोठामा छिरेपछि आफू प्याड किनेर आउने भन्दै अनिता बाहिर निस्किइन् । श्याम उनी फर्केर आउने प्रतीक्षा बसे, तर १ घण्टा हुँदा समेत उनी आइनन् । 

श्यामले धेरैपटक फोन गरे, तर उठेन । त्यसपछि आफू फर्किन लागेको भन्दै उनलाई म्यासेज पठाए । तत्कालै अनिताले फोन गरिन् ।

उनले ‘म घर आइसकें, मैले सबै कुरा दाजुभाउजूलाई भनेकी छु, उहाँहरूसँग कुरा गर्नुस्’ भनिन् । अचम्ममा परेका श्यामले ‘के भयो त ? मैले केही गरेको छैन,’ भन्ने जवाफ फर्काए ।

अनिताले ‘हामीहरूबीच सबै कुरा भइसकेको छ । अब दाजुहरूसँग कुरा गर्नुस्’ भन्दै फोन राखिन् ।

त्यसलगत्तै दाजुको भूमिकामा रहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ मान्खाका २७ वर्षीय विमल सुवेदीले उनलाई फोन गरेर धम्क्याए । ‘मेरो बहिनीलाई जबरजस्ती गरिस्, प्रहरीकोमा जाऔं कि मिलाउँछस् ?’ भनेर थर्काए ।

तर, श्याम उनीहरूको धम्कीका अगाडि टसकोमस भएनन् ।

उनी गोदावरीबाट घर फर्किए । तारन्तार फोन र म्यासेज आउन थाल्यो । विमलले पैसा नदिए हात भाँचिदिने भनेर समेत धम्की दिएको म्याजेस प्रमाणका रूपमा फेला परेको प्रहरीले जनाएको छ । 

‘पैसा दिइनस् भने तेरो हात भाँचिदिन्छु भन्दै म्यासेज पठाएको रहेछ,’ एसपी कार्कीले लोकान्तरसँग भने । 

त्यतिले मात्र नभएपछि उनलाई पत्रकारको भूमिकामा रहेका सिन्धुपाल्चोक बलेफीकै दीपक पराजुलीले फोन गरे । 

आफू गृहमन्त्रीको प्रेस सल्लाहकार भएको र केस नमिलाएको खण्डमा प्रहरीमा उजुरी हालिदिने भनेर धम्क्याए ।

अति हुन थालेपछि उनीहरूबीच पैसाका विषयमा कुराकानी भयो । ८/९ लाखबाट शुरू भएको बार्गेनिङ ३ लाखमा आएर टुंगियो ।

आफूले थप पैसा छैन भनेपछि बाँकी ३/४ महिनाभित्रमा दिनू भन्दै ३ लाख लिन उनीहरू तयार भएको श्यामले प्रहरीमा बताएका छन् ।

‘पीडितले दिएको ३ लाख रुपैयाँ केही महिनाका लागि मात्र हो भनेर धम्क्याएको पाइएको छ,’ एसपी नवराज कार्कीले लोकान्तरसँग भने, ‘केटी भनेको तरकारी बजारजस्तो हो र यति–उति भनेर बार्गेनिङ गर्ने ? यो अहिलेलाई भयो, अरू पछि माग्छौं भनेका रहेछन् ।’ 

अति भएपछि श्याम प्रहरी परिसर ललितपुरमा उजुरी दिन पुगे । उनकै उजुरीका आधारमा प्रहरीले ‘हनी ट्र्याप’मा पार्ने झापाको बिर्तामोड नगरपालिका– ९ की अनिता मगर भन्ने सिया मगरलगायत ४ जनालाई पक्राउ गर्‍यो । 

एसपी कार्कीका अनुसार सियाले पोखरामा रहेको किङ्ग लाउन्जमा काम गर्दै आएका थिइन् । एक वर्ष काम गरेर छाडेको उनले प्रहरीसँग बताएकी छन् । दीपक पराजुलीसँग सियाको भेट त्यहीँ भएको र विमललाई पछि चिनजान गराएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ‘हनी ट्र्याप’मा पार्ने मुख्य योजनाकार दीपक र विमल हुन् । उनीहरूले सियालाई १ वर्षमै काठमाडौंमा घर बनाउने योजना रहेको भन्दै आफ्नो योजनाको हिस्सा बनाएको पाइएको छ ।

‘हामीले भनेको मान्यौ भने एक वर्षमै काठमाडौंका घर बन्छ । जे–जे भन्छौं, त्यो मान भन्दै ‘हनी ट्र्याप’मा पार्न सिकाएको देखिएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने । 

सियाले ‘फेक आईडी’ प्रयोग गरेर अन्यलाई पनि ‘हनी ट्र्याप’मा पार्नका लागि फेसबूकमा कुराकानी गरिरहेको पाइएको छ ।

उनीहरूले योजनाबद्धरूपमा ‘ट्रयाप’मा पार्नका लागि १०/१२ जना व्यक्तिसँग कुराकानी गरिहरहेको, तर भेट भइनसकेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

उनीहरूले यसअघि पनि अर्का एकजनालाई ‘हनी ट्र्याप’मा पारेर ३ लाख २५ हजार रुपैयाँ पैसा लिइसकेको पाइएको एसपी कार्कीले बताए । 

‘हामीले कहीँ यस्ता केस छन् कि भनेर खोज्दा सातदोबाटो वृत्तमा यस्तै घटनाको उजुरी परेको पाइयो । त्यसपछि अनुसन्धान गर्दा उनीहरू नै संलग्न भएको पुष्टि भयो,’ एसपी कार्कीले लोकान्तरसँग भने ।

असार २८ गते भक्तपुरका एक व्यक्तिबाट उक्त रकम ठगेको पाइएको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएका ती व्यक्तिसँग सम्पर्क गरेर विभिन्न ठाउँमा घुमेर अन्तिममा बालकुमारीमा ‘ट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिसँग विवाह गर्ने आश्वासन समेत दिएर विभिन्न ठाउँमा घुमेको र यौनसम्पर्क समेत भएको पाइएको अनुसन्धानमा खटिएका अधिकारीले बताए ।

‘उनीसँग त ललितपुरको कुनै होटलमा शारीरिक सम्पर्क समेत स्थापित भएको देखिएको छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने । 

त्यसपछि बालकुमारीको एक रेस्टुरेन्टमा बोलाएर बार्गेनिङ गरेको पाइएको प्रहरीले जनाएको छ । बार्गेनिङको भिडियोलगायतका प्रमाण समेत प्रहरीले हात पारेको छ ।

उक्त रेस्टुरेन्टबाट प्राप्त सीसीटीभी फूटेजका आधारमा ठगीको गिरोह एउटै भएको खुलेको एसपी कार्कीले बताए ।

एकपटक विराटनगरबाट प्लेन टिकट काटेर सिया काठमाडौं आएको देखिएको प्रहरीले जनाएको छ । आफू धरानको केटी भएको भन्दै ती पीडितलाई ठगेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

उनीहरूले योजनाबद्धरूपमै ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने गरेको देखिएको एसपी कार्कीले बताए । प्रहरीले अहिले उनीहरूलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्