२३ असार २०८३, मंगलबार

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

साउन २०, २०८०
काठमाडौं
जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

विक्रम संवत् २०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुती बजारमा ल्याइहेका ‘जोगिन्दर’को उपनामले चर्चित हास्य कलाकार शिवशंकर रिजालले यस वर्ष २१औं गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् ।

हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् ।

‘मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु,’ हास्य कलाकार रिजालले भने । पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले यूट्युबमा आउने गरेको छ । 

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यंग्य गरिएको उनले जानकारी दिए । उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।

प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गरेका छन् ।

हास्यकलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यंग्य गरेर चेतना बढाउने काम गरिएको बताए । उनले भने, ‘जनताको मत पाएको बन्नुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यंग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो । साथै मनोरञ्जन यसमा भरपुर छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्