
बैंकहरूमा करीब साढे ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा लगानीयोग्य रकम बढेको हो ।
निजी क्षेत्रले उद्योग र व्यापारका लागि अपेक्षाकृत ढंगले ऋण नमाग्दा बैंकिङ तरलता बढिरहेको देखिएको छ ।
गत वर्षको साउनमा बैंकहरू निक्षेप खोज्ने तनावमा भौंतारिएका थिए, तर यो वर्ष तरलता बढी भएर लगानीको क्षेत्र खोज्नुपर्ने दबाब छ ।
बैंकमा तरलता थुप्रिँदै जाने र कर्जा लगानी कम भइरहने हो भने आर्थिक वृद्धिमै असर पुग्ने चिन्ता व्यक्त हुन थालेको नेपाल बैंकर्स संघका सदस्य सुदेश खालिङले बताए ।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका खालिङ अहिले नै बैंकहरूसँग साढे ५ देखि ६ खर्ब रूपैयाँ लगानी गर्न सक्ने क्षमता रहेको बताउँछन् ।
बर्सेनि बैंकहरूले असारदेखि नै लगानी कम गर्दै जाने भएकाले साउनमा तुलनात्मक रूपमा कर्जा विस्तार घट्ने गरेको छ । त्यसो हुँदाहुँदै पनि माग अपेक्षाकृत ढंगले नआउँदा बैंकहरूलाई टाउको दुखाइ बनेको छ ।
‘तरलता थुप्रिँदै जाने र कर्जाको माग लामो समयसम्म कम भइरहने हो भने यो वर्ष नाफामै असर पर्न सक्छ’, खालिङले भने, ‘बैंकहरूले बेलैमा लगानीको क्षेत्र खोज्न सकेनन् भने निजी क्षेत्रतर्फ कर्जा विस्तार कम हुँदा अर्थतन्त्र थप संकुचनमा जान सक्ने र त्यसको असर आर्थिक वृद्धिमा पर्ने चिन्ता छ ।’
उनले थपे, ‘गत वर्षको साउनमा तरलता अभाव भएर तड्पिएका बेला कर्जाको माग थियो, तर लगानी गर्न पैसा थिएन । अहिले तरलता थुप्रिएको छ, तर ऋणको माग नै छैन ।’
बैंकहरूमा कर्जाको माग र कर्जा प्रवाहको चक्र चलिरहनुपर्छ । यो चक्र नचले लगानी रोकिन्छ । आर्थिक क्षेत्र संकुचनमा गएर ऋणको माग नआएको हुनसक्ने बुझाइ खालिङको छ ।
बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै कर्जा विस्तार हो । कर्जा विस्तार हुन नसके चालू आवमा बैंकहरूको नाफामा समेत संकुचन आउन सक्छ ।
बैंकहरूबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा रोकिँदा अर्थतन्त्रको चक्रमै असर पर्ने जोखिम रहेकाले तत्काल समस्या समाधानमा लाग्नुपर्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको १९ साउनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै सो अवधिसम्ममा ४९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेर ४२ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो तथ्यांकअनुसार असार मसान्तमा बैंकहरूको निक्षेपको तुलनामा साउन तेस्रो सातासम्ममा निक्षेप घटेको छ ।
यो अवधिमा कर्जा लगानी पनि घटेका कारण बैंकिङ प्रणालीमा तरलता कम नभएको नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले बताए ।
उनले भने, ‘निक्षेपको तुलनामा कर्जाको माग कम भएको देखिएको छ । असारको तुलनामा साउनमा निक्षेप र कर्जा दुवै कम भएको छ । कर्जा प्रवाह ठप्प रहेकाले तरलता कम भएको छैन ।’
पछिल्लो समय बैंकको ब्याजदर घटेको, बैंक दर कम भएको, बैंकिङ प्रणालीमा तरलता थुप्रिएको अवस्था छ ।
बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ प्रतिशत रहेको अवस्थामा पनि ऋणको माग नभएका कारण तरलता थुप्रिएको बैंकर्स संघको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले केन्द्रीय बैंकले चालू पूँजी कर्जा नीति लागू गरेर पुराना ऋणीलाई त्रसित गराउने काम गर्दा ऋण विस्तार हुन नसकेको बताए ।
उनले भने, ‘ऋणको ब्याज तिर्न सक्ने अवस्था नभएको समयमा पुरानो ऋण चुक्ता गर्नू भनेर आतंकित बनाउने काम भइरहेको छ, जसका कारण ऋण विस्तार हुन नसकेको हाम्रो बुझाइ छ ।’
अहिलेको अवस्थामा पुराना ऋणीले बैंकको पैसा थप नचलाएसम्म नयाँ ऋणीबाट मात्रै अर्थतन्त्र नचल्ने तर्क उनले गरे ।
पछिल्लो समय आर्थिक मन्दी लागिरहेका बेला नयाँले ऋण लिएर व्यापार/व्यवसाय गर्न आँट गर्न सकेका छैनन् ।
‘ब्याजदर घटाउँदैमा र पैसा छ लिन आऊ भन्दैमा कोही जानेवाला छैन । व्यापारीले व्यापार गरेर लाभ लिन सक्ने र बैंकको ऋण तिर्न सक्ने सुनिश्चितता नदेखेसम्म बैंकको कर्जा विस्तार अपेक्षाअनुसार हुन सक्ने देखिँदैन,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वैद्यले भने ।
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेल भने असारको तुलनामा साउनमा कर्जा प्रवाह कम हुने गरेकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन् ।
असारमा बैंकहरूको ध्यान रिकभरीमा हुन्छ । साउन पनि आवको पहिलो महिना भएकाले योजना बनाउने काममै बित्दा कर्जा विस्तार कम हुने गरेको तर्क पोख्रेलले गरे ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २४ साउनसम्ममा बैंकिङ प्रणालीमा ५६ खर्ब ७ अर्ब निक्षेप संकलन भएर ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
साउनको पहिलो साता मौद्रिक नीति आउने भएकाले बैंकहरूले सोही समयको तथ्यांक हेरेर लगानी नीति बनाउने गरेका छन् ।
राष्ट्र बैंकले दिएको कर्जा विस्तारको सीमा, ब्याजदर, बैंक दर, कर्जा निक्षेप अनुपातसहितको तथ्यांकलाई विश्लेषण गरेर भदौदेखि मात्र कर्जा प्रवाहले गति लिने गरेको पोखरेलले बताए ।