
नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका सांसद सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ।
लोकान्तरलाई प्राप्त प्रमाणपत्रमा राष्ट्रिय परीक्षा बोर्डले उनको शैक्षिक प्रमाणपत्र कैफियत जनाउँदै ‘अपुष्ट’ भनेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी) ले २०७८ साउन २० गते प्रमाणपत्रको बारेमा सत्य–तथ्य बुझ्न भन्दै परीक्षा बोर्डमा पत्र पठाएको थियो । त्यसको जवाफ बोर्डले २०७९ असार १९ पठाएको थियो ।

उसले पठाएको जवाफमा सन् १९९६ सालमा रोल कोड ६५०४ र रोल्न नम्बर १०११७ मा आईएस्सी तहमा कैफियत भएको बताएको छ ।
यस्तै, सीआईबीले पठाएको पत्रमा बिहार स्कूल परीक्षा बोर्डले पनि कैफित भएको जवाफ पठाएको छ । बिहार परीक्षा बोर्डले सन् २०२२ जुन २३ गते त्यसको जवाफ पठाएको प्रमाण लोकान्तरलाई प्राप्त भएको छ ।

त्यसमा कैफियत देखिएका मध्येका ५ औं नम्बरमा रहेका सुनिलको ‘डीफर फर्म बीएसईबी पट्ना रेकर्ड’ भनेको छ ।
आज काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उनलाई सीआईबीले लिखत किर्तेमा अनुसन्धान गर्नका लागि अदालत पुर्याएको थियो ।
