०१ साउन २०८३, शुक्रबार

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

साउन ३२, २०८०
काठमाडौं
डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।
 
उनले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ । 

सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल सङ्क्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् । महाशाखाका निर्देशक डा मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् ।

“दैनिक डेङ्गु सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गु रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौँ”, उनले भने ।

डेङ्गु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गु सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्