२९ असार २०८३, सोमबार
अहिलेसम्मकै गाह्रो लागेको पात्र

‘जुलेबी’मा यौनकर्मीको भूमिका निभाउन सुरक्षा पन्तले गरेको संघर्ष

भदौ २, २०८०
काठमाडौं
‘जुलेबी’मा यौनकर्मीको भूमिका निभाउन सुरक्षा पन्तले गरेको संघर्ष

अभिनयबाट दर्शकको मन जितेकी अभिनेत्री हुन् सुरक्षा पन्त । उनी फेरि नयाँ फिल्मका साथ हलमा आएकी छिन् । पन्त अभिनित फिल्म ‘जुलेबी’ शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । 

काठमाडौंको रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा सुरक्षाले यौनकर्मी महिला पात्रको भूमिका निर्वाह गरेकी छिन् । अहिलेसम्म अभिनय गरेका फिल्ममध्ये जुलेबीमा यौनकर्मीको भूमिका निर्वाह गर्न गाह्रो लागेको उनको अनुभव छ । गाह्रो लागे पनि पात्रलाई न्याय गरेर अभिनय गरेको उनले सुनाइन् । ‘यसमा समाजको संवेदनशील पात्रको भूमिका छ । कोही यौनकर्मीसँग बसेर हामी फिल्म बनाउँदैछौं भनेर कुरा गर्दा पनि उहाँहरू हच्किने डर रहन्थ्यो । उहाँहरू खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो,’ सुरक्षाले लोकान्तरसँग भनिन् ‘यद्यपि जति धेरै इन्फरमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सकिन्छ । अलिकति चुक्यो भने राम्रो देखिँदैन । त्यसैले शुरूआतमै त्यो पात्रको तयारी गर्न गाह्रो हुने लागेको थियो ।’ 

सफल कलाकार त्यो हो जसले हरेक चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने आँट राख्छ । सुरक्षाले चुनौतीपूर्ण भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीका रूपमा आफूलाई प्रमाणित गर्दै आइरहेकी थिइन् । ‘जुलेबी’मा पनि उनी चुनौती मोल्न तयार भइन् । यौनकर्मी पात्रलाई कसरी न्याय गर्ने भनेर सोँच्न थालिन् । 

वास्तविक यौनकर्मीबारे बुझ्न उनी बेलुकापख रत्नपार्क पुगिन् । तर, त्यहाँ यौनकर्मीलाई भेटेर कुरा गर्ने माहोल मिलेन । टाढाबाट ‘बडिल्याङवेज’ मात्र नियालेर फर्किइन् । 

फिल्मकै एकजना महिला सदस्यले एक यौनकर्मी महिलालाई चिनेकी रहेछिन् । उनीमार्फत् सुरक्षाले तिनलाई भेटेर कुराकानी गरिन् । 

‘उहाँ दुईवटा बच्चाको आमा हुनुहुँदो रहेछ । बच्चाहरू हुर्काइरहेकी छु । पढाइरहेकी छु भन्नुहुन्थ्यो । उहाँले एउटा कलाकारका रूपमा मलाई चिन्नुहुँदो रहेछ । भेट्दाखेरी तपाईंको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । खुशी हुनुभयो,’ पात्रको तयारीका कुरा सुनाउँदै उनले भनिन्, ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरू मज्जाले सेयर गर्नुभयो । सानोसानो कुराहरू पनि सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

बडिल्याङवेजका लागि भने आफूलाई ‘टफ’ भएको सुरक्षा सुनाउँछिन् । यद्यपि अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाए पनि उनीहरूको ‘बडिल्याङवेज’ नियालेका कारण धेरै पात्रबाट थोरै–धेरै कुराहरू लिइन् । र, अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गएको सुरक्षाले सुनाइन् । 

‘मेरो पात्र कोही पनि व्यक्तिलाई इंकित गरेजस्तो नदेखिएको राम्रो । यो को हो ? को हो भनेको जस्तो देखिनु राम्रो हो । त्यसले संवेदनशीलता मेन्टेन गर्छ,’ उनले सुनाइन्, ‘मैले धेरै पात्रबाट अलिअलि बडिल्याङवेज ल्याएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको पात्र हो, माया ।’

सधै भिड्भाड रहने रत्नपार्कमा छायांकन गर्दाको अनुभव पनि रमाइलो रहेको उनले बताइन् । दर्शकलाई छायांकनको पत्तो नदिई टाढाबाट छायांकन गरिएको थियो । सुटिङ सकियो । 

डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन् । त्यसपछि फिल्मलाई लिएर सन्तुष्ट छिन् उनी । भन्छिन्, ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त केही दिनमा रिजल्ट आउला । तर, म चाहिँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’ 

‘जुलेबी’लाई गणेशदेव पाण्डेले लेखन एवं निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् । फिल्ममा तह–तहमा कथा भनिएको छ । आइरहेका फिल्मभन्दा फरक स्वादको भएका कारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचीकर हुनसक्ने अपेक्षा सुरक्षाले लिएकी छिन् । 

‘हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौं, सबै सतही–सतही भयो । जेलिएका सम्बन्धहरूबारे भित्री गहिराइसम्म पुगेका कथा खोई त ? भनेर फरक खोज्नुभएका अडियन्सहरूले अझ बढी रुचाउनुहुनेछ,’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरू के गर्नुहुन्छ थाहा छैन । मैले देखेको मिक्स रेस्पोन्स आउन सक्छ । यद्यपि, क्रिटिक्सबाट चाहिँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’ 

‘आमा’पछि सुरक्षाले गरेका प्रायः फिल्म गम्भीर कथावस्तु र अभिनयमा आधारित छन् । यसअघिका ‘बहान’ र ‘बुलाकी’ सोही प्रकृतिका थिए । मूलधारका व्यावसायिक फिल्ममा उनको उपस्थिति अलिकति कमजोर देखिन्छ । अब केही समय भने उनी गम्भीर खालका फिल्मबाट विश्राम लिने सोँचमा पुगेकी छिन् । 

पछिल्लो समय नेपाली फिल्मले अपेक्षित दर्शक तान्न सकिरहेका छैनन् । यसबारे पनि सुरक्षाले धारणा सेयर गरिन् । उनले दर्शकलाई इन्गेज गर्ने खालका फिल्म नआएका कारण नै नचलिरहेको बताइन् । 

‘फिल्म बनेर मात्र भएन, दर्शकलाई इन्गेज गर्ने खालको हुनुपर्यो । नेपाली मात्र होइन, ब्याक टु ब्याक बाहिरी फिल्महरू पनि आइरहेका हुन्छन् । दर्शकलाई थुप्रै अप्सन छ फेरि । सायद त्यही भएर पनि होला,’ नेपाली फिल्म अपेक्षित नचल्नुको कारणबारे उनको तर्क छ, ‘त्यसबोहक दर्शकहरू आफ्नो लाइफमा जेलिरहनुभएको छ । बेसिक कुरा पूरा गर्न दौडिरहनुभएको छ । हामीले त्यो खालको फिल्म नै दिएका छैनौं । उहाँहरूले केही समय छुट्याएर इन्टरटेन हुन जान्छु भन्ने फिल्म अझै दिएका छैनौं कि भन्ने लाग्छ ।’

उनलाई थुप्रै फिल्मबाट अफर पुगिरहेको हुन्छ । यतिबेला पनि केही फिल्मको स्क्रिप्ट पढिरहेकी छिन् । यद्यपि, पछिल्लो समय धेरै अफरहरू अस्वीकार गरिरहेको उनले बताइन् । आगामी फिल्म ‘कार्साङ’मा सुरक्षाले अभिनेता दयाहाङ राईसँग जोडी बाँध्दैछिन् । अब उनलाई केही भूमिकाहरू गर्न मन छ । ‘स्पोर्टसमा लाग्नुभएका महिलाहरूको भूमिका गर्न मन छ । पुलिस प्रशासनमा लाग्नुभएका महिलाहरूको भूमिका गर्न पनि मन छ । फिजिकल्ली अलिकति च्यालेन्ज हुने फिल्महरू गर्न चाहन्छु’ कुराकानीको बिट मार्ने क्रममा उनले सुनाइन् ।

salt training

कमेन्ट गर्नुहोस्