
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ ।
बुधवार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरेबिया रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने उल्लेख गरे । ‘साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ,’ मन्त्री ज्वालाले भने, ‘साउदी अरबमा करिब चार लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरूले पनि केही दक्षता पाएकै छन्, त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौँ, त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ ।’
साउदी अरेबिया सरकारले साउदी विकास कोषमार्पmत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे ।
‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदैछ, त्यसका लागि विकासलाई तीव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ,’ मन्त्री ज्वालाले भने ।
साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुपर्यो’, उनले भने । साउदी अरेबियाले वर्ल्ड एक्पो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ । साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए । –रासस