
अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिमा आबद्ध व्यक्तिहरूलाई पनि आफ्नो आगामी फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् ।
कृषा चौलागाईंको निर्देशन रहेको यो फिल्म आउँदो बिहीवारबाट प्रदर्शनमा आउँदैछ ।
अभिनेत्री स्वस्तिमाले फिल्मको प्रिमियर तथा कार्यक्रमहरूमा आफूले नेताहरूलाई देख्ने गरेको भन्दै हलमा गएर पनि फिल्म हेर्न आग्रह गरेकी हुन् ।
फिल्म समाजको रिफ्लेक्सन पनि भएको भन्दै उनले भनिन् ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ । त्यसैले ‘ऐंचो पैंचो’ हेर्न म उहाँहरूलाई आग्रह गर्छु ।’
अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐंचो पैंचो’ राम्रो बनेको बताएकी छन् । ‘ऐंचो पैंचो’बाट अफर आएपछि आफूले सुरुमा निर्देशकसँग विचार र भिजन मिल्छ कि मिल्दैन भनेर केही दिन वर्कसपमा बसेपछि मात्रै फिल्म साइन गरेको स्वस्तिमाले जानकारी दिएकी छन् ।
निर्देशक कृषा चौलागाईंका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि रहेको उनी बताउँछिन् । तर, फिल्म राजनीतिमा मात्रै केन्द्रित नभएको कृषाले बताउँदै आएकी छन् । राजनीति फिल्मको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।
समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै फिल्ममा समेटिएको कृषाको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो फिल्म दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् ।
गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा फिल्मले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । फिल्मको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि फिल्म सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् । फिल्ममा स्वस्तिमाका साथमा वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतका कलाकार शीर्ष भूमिकामा छन् ।

अभिनेत्री वर्षाले अन्य फिल्ममा भन्दा आफूले ‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको बताएकी छन् । आफ्नो चरित्र फिल्ममा छोटो भए पनि पावरफुल रहेको उनको भनाइ छ । आफ्ना धेरैजसो फिल्म छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले फिल्ममा काम गरेको बताएका छन् ।
‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमाजी लिड रोलमा हुनुहुन्थ्यो । त्यो फिल्मबाटै म आएको हुँ । मैले धेरै फिल्म त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा फिल्म राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’
अभिनेता सुशीलले पनि ‘ऐंचो पैंचो’बाट आफू निकै आशावादी रहेको बताएका छन् । फिल्ममा आफूले निर्वाह गरेको पात्र पनि दर्शकलाई प्रिय लाग्ने रहेको उनको भनाई छ । निर्माता विशाल चौलागाईंले विदेशका धेरै देशका लागि फिल्मको राइट्स बिक्री भइसकेको भन्दै नेपालबाटै लगानी सुरक्षित गर्ने बताएका छन् ।
अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विपीन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह–निर्माता रहेका छन् ।