
पछिल्लो समय राजनीतिक विषयले पनि नेपाली फिल्ममा स्थान पाउन थालेका छन् । एकपछि अर्को राजनीतिक विषय समावेश फिल्म प्रदर्शनमा आइरहेका छन् ।
गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ समसामयिक राजनीतिक प्रवृत्तिलाई लिएर निर्माण गरिएको थियो, फिल्मले घरेलु बक्स अफिसमा ‘बम्पर’ कमाइ गर्यो ।
यसपटक फेरि हलमा राजनीतिक विषय समावेश गरिएको फिल्म ‘ऐँचो पैँचो’ प्रदर्शनरत छ ।
ठूलो क्यानभासमा फिल्म खिच्नुपर्ने र मास धेरै देखाउनुपर्ने भएकाले फिल्ममा राजनीतिक विषय समावेश गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ ।

राजनीतिक विषय समावेश फिल्मका मुख्य कमजोरी प्रायः यिनै विषयहरूमा पाउने गरिन्छ । यसपटक फिल्म ‘ऐँचो पैँचो’ भने त्यसमा केही सबल देखिएको छ । यद्यपि, फिल्ममा अन्य कमीकमजोरी भने प्रशस्तै भेछिन्छन् ।
कस्तो छ कथा ?
तराईको एउटा गाउँ छ । गाउँ भए पनि यो सुगम छ । दिलेन्द्र (मुकुन भुसाल) र सुन्दर (कोशिस क्षेत्री) एउटै पार्टीमा कार्यकर्ता रहेर राजनीतिमा छन् । यद्यपि, पैसाका लागि गलत काम गरेर सुन्दरले पार्टीलाई चन्दा सहयोग गर्छ, अवसर पाउँदै जान्छ ।
पार्टीलाई सहयोग र चन्दा दिन नसक्दा दिलेन्द्रले अवसर पाउँदैन ।
यता, दिलेन्द्रको सच्चा साथीका रुपमा रहेका सीताराम (सुशील सिटौला)सँग औपचारिक पढाइ छैन, उसलाई राजनीतिमा पनि कुनै रुचि छैन ।
कलेज पढिरहेकी पुष्पा (वर्षा राउत) र नपढेकी तर टिकटक स्टारका रुपमा चिनिएकी रुपा (स्वस्तिमा खड्का) दिदीबहिनीका रुपमा छन् । दुई सासी सीताराम र दिलेन्द्रले यी दिदीबहिनीलाई मन पराउन पुग्छन् ।
दिलेन्द्र र सुन्दरको राजनीति कसरी अगाडि बढ्छ ? सीताराम र दिलेन्द्रले पुष्पा र रुपासँग पाउँछन् त ? यस्तै प्रश्नहरू हल गर्दै फिल्मले २ घण्टा बिट मार्छ ।
के छ हेर्नलायक ?
राजनीतिभित्रका विकृतिबारे हामीले बेलाबेलामा सुन्दै आइरहेका हुन्छौं । तिनैमध्ये केही विकृतिलाई ऐनाका रुपमा देखाउने एउटा प्रयास यस फिल्मले गरेको छ ।

यस फिल्ममा एउटा संवाद छ, ‘म यो गाउँको जनता भनाउँदा भेडाहरूलाई राम्रोसँग चिन्छु । यिनीहरू अहिले पनि ऐँचो पैँचोमा विश्वास गर्छन् । त्यसैले यिनीहरूलाई एउटा हातले नोट दिने, अनि अर्को हातले भोट लिने ।’ यसले चुनावमा हुने भोट किनबेचको विकृतिलाई छोएको छ ।
फिल्ममा अर्को संंवाद छ – ‘राजनीति एउटा यस्तो पेशा हो नि, जो गरिबका लागि लड्दालड्दै धनी भएको थाहै पाउँदैनन् ।’ यो संवादले राजनीति र भ्रष्ट राजनीतिज्ञलाई समेत व्यङ्ग्य गर्छ ।
रोजगारीका लागि खाडी मुलुक जान बाध्य युवाहरूको कथासमेत फिल्ममा छ ।
समग्रमा समाजका हरेक व्यक्ति र विषयमा राजनीति जोडिने कुरा फिल्मले गरेको छ ।
शीर्ष भूमिकामा रहेका स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, कोशिस क्षेत्री, सु्शील सिटौला सबैको अभिनय स्वभाविक लाग्छ ।
प्रदर्शनअघि सिन काटिएको चर्चा भएकी अभिनेत्री वर्षा ‘इनोसेन्ट’ भूमिकामा सुहाएकी छिन् । सबैभन्दा प्रसंशायोग्य भूमिका उनको देखिन्छ । दर्शकलाई उनको भूमिका ‘सरप्राइजिङ’ लाग्छ । अभिनेत्री स्वस्तिमालाई पनि चुलबुले भूमिकामा फिट देखिएको छ । मुकुन, कोशिस र सुशील पनि आफ्नो भूमिकामा फिट देखिन्छन् । अभिनेता राजाराम पौडेल फिल्मको अर्को विशेष पात्र हुन् ।
के छन् कमजोरी ?
फिल्म मनोरञ्जनात्मक छ, तर थुप्रै कमजोरीसमेत छन् । मुख्य कमजोरी फिल्मको लेखनमा मेहनत पुगेको देखिँदैन ।
अभिमन्यू निरबी कथा लेखन रहेको फिल्ममा चर्चित केही कलाकारहरूको उपस्थिति फितलो लाग्छ ।
अभिनेता बुद्धि तामाङ र रवीन्द्र झा ‘फिल्ममा छन्’ भन्नका लागि मात्रै राखिएको लाग्छ । उनीहरूको सिन एकदमै कम छ । फिल्ममा केही घटनाक्रम सस्पेन्स छन्, तर रोचक लाग्दैनन् ।

विदेशबाट शव आउँदाको दृश्यले दर्शकलाई ‘कन्भिन्स’ गराउन सक्दैन । त्यो दृश्य नाटकीय लाग्छ, दर्शक भावुक बन्न सक्दैनन् । फिल्मको गीतसंगीत पक्षलाई औसत मान्नुपर्छ ।
दृश्यलाई मनमोहक ढंगबाट देखाउन पुरुषोत्तम प्रधानको छायांकनमा खोट लगाउने ठाउँ धेरै पाइँदैन । विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादनले पनि गुनासो गर्ने ठाउँ दिँदैन । व्याकग्राउण्ड स्कोर, साउण्ड डिजाइन केही लाउड लाग्छ ।
कृषा चौलागाईंको पहिलो निर्देशकीय फिल्म हो, ‘ऐँचो पैँचो’ । केही कमीकमजोरीका बीच उनले मनोरञ्जनात्मक कन्टेन्ट रुचाउने दर्शकलाई रुचिकर हुने फिल्म भने दिएकी छिन् । सँगसँगै, नेपालमा महिला निर्देशकहरू एकदमै कम रहेको अवस्थामा कृषाले आफूलाई बलियो सम्भावनाका रुपमा पनि उभ्याएकी छिन् ।
भोलिका दिनमा भने उनीबाट अझ स्तरीय फिल्मको अपेक्षा हुनेछ ।
फिल्म : ‘ऐँचो पैँचो’
निर्देशक : कृषा चौलागाईं
कलाकारहरू : स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोशिस क्षेत्री आदि
समय : २ घण्टा ६ मिनेट ।