२० असार २०८३, शनिबार

सर्टफिल्म बनाउन अमेरिकाबाट आएकी ज्याकलिनले नेपाली गीत पनि गाएर फर्किइन्

भदौ २६, २०८०
काठमाडौं
सर्टफिल्म बनाउन अमेरिकाबाट आएकी ज्याकलिनले नेपाली गीत पनि गाएर फर्किइन्

कुरा भदौ १५ गतेको हो । गीतकार एवं संगीतकार लोकराज अधिकारी जीवन संगीनीको जन्मदिन ‘सेलिब्रेसन’को तयारीमा थिए ।

एकजना अमेरिकी नागरिक पनि उपस्थित थिइन् सेलिब्रेसनमा । त्यहाँ घन्किएको थियो लोकराजकै रचनामा रहेको गीत ‘रुपै मोहनी...।’

ती अमेरिकी नागरिकले उत्साहित हुँदै गीतको मेलोडी टिपेर गुनगुनाउने प्रयास गरिन् । त्यो देखेर लोकराजको ध्यान तानियो । मनभित्र जिज्ञासा जाग्यो – यि गायिका हुन् कि क्या हो ! 

उनले केही अंग्रेजी कभर गीत गाएर आफ्नो युट्युबमा राखेको लोकराजले थाहा पाए ।

उनी थिइन् २७ वर्षीया अमेरिकी नागरिक ज्याकलिन पेरालेज । खासमा उनी सर्ट फिल्मको सुटिङका लागि पहिलोपटक नेपाल आएकी थिइन्, दुई हप्ताको समय लिएर ।

अस्कर कलेजमा फिल्म पढेका लोकराजका छोरा जेएलसनको चिनजानमार्फत ज्याकलिन जन्मदिन सेलिब्रेसनमा पुगेकी रहिछिन् ।

नेपाली बोल्न नआउने भए पनि संगीतमा झुमेको देखेर लोकराजले प्रस्ताव राखे – गीत गाउने हो ? ज्याकलिनलाई पहिले सुटिङ सक्नु थियो । यद्यपि, गीत गाउन पनि उत्साहित रहेको उनले जवाफ दिएकी थिइन् । 

लोकराजले ज्याकलिनकै लागि लेखे गीत

ज्याकलिनलाई गीत गाउन दिने तय भयो । शुरूमा त पुरानै गीतको ट्रयाकमा गाउन दिने कि भन्ने सोच लोकराजमा आएको थियो । तर पहिले हिट भएको गीत गाउन दिँदा राम्रो र पृथक नसुनिने हो कि भन्ने डर पैदा भयो । अनि ज्याकलिनकै लागि लेखे, ‘ए कान्छा एउटा कुरा सुनिदेउ, मलाई नेपाल र नेपाली मन पर्यो ।’ 

लोकराजले गीतबारे भने, ‘यो उहाँकै लागि लेखेको हो । नेपाल आएका पर्यटकले नेपाली संस्कृति, नेपालको भूभाग, नेपाली रहनसहन, खाना, नेपाली पन र नेपाली मान्छे मन परेको भाव गीतमा उल्लेख छ । पर्यटकले नेपालको बयान गरेको गीत हो यो ।’

गत शनिवार गीतको डमी ज्याकलिनलाई दिए । त्यही डमीअनुसार उनले त्यसलाई फ्लो गर्दै गीत गाउने कोसिस गर्न थालिन् । शब्दहरू रोमनमा लेखेर उनले गीतको प्राक्टिस् गरिन् । 

गोविन्द मधुर आचार्यको संगीत रहेको गीत गत आइतवार म्युजिक बैंक नेपाल स्टुडियोमा रेकर्ड गराइन् । उनले साढे दुई घण्टा लगाएर गीत गाएको लोकराज बताउँछन् । 

कस्तो गाइन् ? 

‘उहाँलाई नेपाली बोल्न आउँदैन । नमस्कार, मलाई नेपाली मनपर्छ, मःम मनपर्छ जस्ता कुराहरू बल्लबल्ल बोल्न सिक्नुभएको रहेछ’ लोकराजले भने, ‘तर उहाँले गाएको मिठो सुनिएको छ । ल्याङवेज त उताको आउँछ नै । तर पनि मेलोडी ठ्याक्कै पकड्ने, टाइमिङमा गाउने गरेका कारण सहज भयो ।’ 

लोकराजका अनुसार ज्याकलिन सोमवार अमेरिका फर्किएकी छिन् । टेक्सास निवासी उनी निर्देशक एवं सेट डिजाइनर समेत हुन् ।

अंग्रेजी, फ्रेन्स र नेपाली भाषामा निर्माण हुने सर्ट फिल्मका लागि ज्याकलिन  नेपाल आएकी थिइन् । 

उनले गाएको गीत यतिबेला मिक्सिङ हुँदै छ । एक साताभित्रमा यसलाई सार्वजनिक गर्ने सोच लोकराजको छ । 

‘उहाँले गाउँदै गरेको फुटेज राखेर लिरिकल भिडियो बनाउने कि छुट्टै केही विदेशीलाई सिंगारेर भिडियो बनाउने भन्नेबारे सल्लाह गर्दैछौं’ उनले सुनाए । 

लोकराजले आफ्ना निकटस्थहरूलाई गीत सुनाउँदा सबैले राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले पृथक खालको गीत भएको बताएका छन् । 

सोहीकारण लोकराज उत्साहित छन् । ‘पहिले नेपाली गायक/गायिकाले गाएको गीत पछि विदेशीले गाएको केही गीत सुनेको छु । तर विदेशीकै लागि भनेर यो भन्दा अगाडि गीतहरू तयार भएको जस्तो लाग्दैन’ लोकराजले भने, ‘सोहीकारण पनि यस गीतलाई लिएर एक किसिमको आशा छ ।’

अमेरिका पुगेपछि ज्याकलिनले पनि गीतबारे जिज्ञासा राखेकी थिइन् । उनी पनि गीतलाई लिएर निकै उत्साहित रहेको लोकराज बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्