![भृकृटीमण्डमा अटो व्यवसायीको कुम्भमेला, ३ वर्षपछि भएको शोमा के–के छ ? [तस्वीरहरू ]](https://lktcdn2.prixacdn.net/media/nada_auto_show_main_hu0M0mUi33.jpg)
अटो व्यवसायीहरूको कुम्भमेला नाडा अटो शोको १५ औं संस्करण आइतवारदेखि भृकुटीमण्डमा जारी छ । गाडी तथा मोटरसाइकलहरूको किनबेच, बुकिङ, नयाँ सवारीको जानकारी र विशेषताका कारण ग्राहक आकर्षित गर्ने उद्देश्यले मेला आयोजना भएको आयोजक संस्था नाडाले जनाएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म चल्ने ‘नाडा अटो एक्सपो २०२३’को अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले केन्द्रीय बैंकले ल्याउने हरेक नीतिलाई अर्थ मन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने भएकोले अटो क्षेत्रमा केन्द्रीय बैंकको नीतिले प्रभाव पारेको बताएका छन् । उनले राज्यले पहिले बिलासी भनेर अटोमोबाइलमा धेरै कर लगाइए पनि अब त्यसलाई घटाएर व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बेला आएको स्पष्ट पारे ।
महतले अबको समाज विद्युतीय सवारीतर्फ गइसकेकाले धेरै कर भन्दा पनि प्रयोगकर्ता बढाएर लाभ लिनुपर्ने बताए । मन्त्री महतले चार्जिङ स्टेसनमार्फत सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने र आगामी दिनमा कर कम बढाउने नीति लिने संकेत पनि गरेका छन् ।

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरिरहेका छन् । कतिपय कम्पनीले अटो शोमै नयाँ मोडलका कारहरू सार्वजनिक गरिरहेका छन् । तीन वर्षदेखि रोकिएको अटो शो यो वर्ष भएको र त्यसका लागि नयाँ नयाँ सवारी भित्रिएको पनि नाडाले जनाएको छ ।
नाडा अटो शो सवारी खरिदबिक्री र सवारीसम्बन्धी जानकारीको लािग नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी स्थाल मानिन्छ । अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीको प्रदर्शन र बिक्री कक्ष राखिएको छ । अटो शोमा नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी लिन विद्यार्थी, युवापुस्ताका व्यापारी, सवारी खरिद् गर्न चाहनेहरूको भीड नै लागेको छ ।
यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको र ३ वर्षदेखि हुन नसकेको अटो शोलाई अहिले सान्त्वना मिलेको पनि थापाको भनाइ छ ।
दर्शकहरूले यस प्रदर्शनीमा विद्युतीय सवारीसाधनहरूलगायत ४ वर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न गर्नमा रुची देखाएका छन् । यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १२० वटा स्टल प्रदर्शनीमा छन ।
स्टलमा चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस्, टायर लुब्रिकेन्टस्, कम्पोनेन्ट र एसेसरिज ३१ वटा रहेका छन् ।

नाडा अटो शो २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोबल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरिरहेको छ । अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन आयल रहेको छ ।

अटो क्षेत्रमा १ खर्ब रुपैयाँ लगानी भएको वार्षिक भन्सार राजस्वको २१ प्रतिशत योगदान अटो क्षेत्रले गर्ने र विज्ञापन बजारको ४० प्रतिशत अटोक्षेत्रबाटै योगदान हुने गरेको क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने पनि अध्यक्ष थापाले बताए ।

उनले भने सरकारले अब आयातमा आधारित व्यवसाय मात्रै नभनेर उद्योगकै रुपमा विकास गर्दै जानुपर्ने, विद्युतीय सवारीलाई प्राथमिकता दिँदै नियमन गर्नुपर्ने, बैंकले लोन टु रेसियो ७५ प्रतिशत पुर्याए सहयोग गर्नुपर्ने पनि थापाले बताए ।
थापाका अनुसार सरकारले अर्थतन्त्रका प्रमुख क्षेत्र अटो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ । घरजग्गा, अटो र शेयर बजार नै अर्थतन्त्रका प्रमुख क्षेत्र भएकोले यी तीन क्षेत्रलाई प्राथमिकता दिए समग्र अर्थतन्त्र चलायमानमा सहज हुने बुझाइ उनको छ ।