०५ साउन २०८३, मंगलबार

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ निर्माण, विशेष प्रदर्शनको तयारी

भदौ ३१, २०८०
काठमाडौं
डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ निर्माण, विशेष प्रदर्शनको तयारी

नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । 

सबै नेपालीले मनन गर्नुपर्ने कथामा फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरूको बसोवास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । 

‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौँ, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन गरुन भन्ने सोचले नै विशेष प्रदर्शन गर्न लागेका हौँ ।’ 

आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै निर्माण टिमले विशेष प्रदर्शनको योजना सार्वजनिक गरेको हो । 

आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । 

‘रित्तो गाउँ’ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ । ‘रित्तो गाउँ’मा अहिलेका चर्चित अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र नव–अभिनेत्री सबिना राउतलाई पनि फिचर गरिएको छ । 

निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनै पनि प्रकारको प्रमोशनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ । 

रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेश वहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमुन, आराध्या जस्ता सर्टफिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक लामो समयदेखि पत्रकारिता पेसामा समेत आबद्ध छन् । 

‘रित्तो गाउँ’लाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रुपमा छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने बताए । उनले भने, –‘हामी अहिले के कसरी गर्ने भनेर सल्लाह गर्दैछौँ । तर, पहिलो शो बाट उठेको रकम क्रिकेट क्षेत्रमा योगदान गर्ने योजना छ । त्यसपछिका हरेक शो बाट उठेको रकमको केही प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौँ ।’ 

८ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युबमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

यस प्रोजेक्टका लागि निर्माण टिमले २० लाख भन्दा बढी लगानी गरेको निर्माता आनन्द राज शर्मा वाग्लेले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्