
मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र शेयर ब्रोकर कम्पनीहरू बीच त्रिपक्षीय व्यावसायिक सम्झौता भएको छ । शेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौता अनुसारका सुविधाहरू ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ खोलेका ग्राहकहरूले पाउनेछन् ।
उक्त सम्झौता बमोजिम बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका शेयर ब्रोकर कम्पनीहरू)ले दिने विभिन्न सेवा सुविधाहरू लिन सक्नेछन् ।
नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ न्यूनतम् मौज्दात रु.१००/– मा खोल्न सकिनेछ ।

यसका साथै निःशुल्क कनेक्ट आईपीएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो शेयर रजिष्ट्रेसन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधासमेत लिन सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आबद्ध भएका छन् ।
आगामी दिनमा अन्य सेवाहरू थप गर्दै लैजाने योजनामा रहेको पनि बैंकले जानकारी दिएको छ ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकले भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट डेबिट कार्डमार्फत निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिटेन्स जम्मा गर्न सकिने तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।