
काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक (बाह्रबीसे– ९)का २३ वर्षीय सञ्जय भण्डारीले हिरासतमा प्रहरीलाई हैरान बनाएका छन् ।
उनले पक्राउ परेकै दिन आफूलाई घर जान दिनुपर्ने माग गरेका थिए । अहिले पनि उनले विभिन्न माग राखेर प्रहरीलाई हैरान बनाउने गरेको एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।
आफूले बाहिर दैनिक मासुभात खाने भएकाले हिरासतमा पनि मासु उपलब्ध गराउन उनले माग गर्ने गरेका छन् ।
‘उनले दैनिक खानामा मासुको माग गर्छन् । म बाहिर दैनिक मासु खान्थें, खै यहाँ पनि ल्याइदिनुपर्यो भन्छन् । सरकारी खानामा मासु हुँदैन, हामीले कहाँबाट दिने ?’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
प्रहरीका अनुसार उनले आफूलाई पक्राउ गर्ने व्यक्तिलाई चिनाइदिनुस् भनेर पनि बारम्बार जिद्दी गर्दै आएका छन् ।
बोल्न नसक्ने उनले आफूले कसरी घटना घटाएको, किन घटाएको भन्ने कुरा निर्धक्कसँग लेखेर बताउने गरेको ती प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरी अधिकारीहरूका अनुसार हिरासत बसाइका कारण उनी मानसिक रूपमा विक्षिप्त भएका छन् ।
‘उसले सबैसँग प्रतिशोध साँध्न खोजेको देखिन्छ, बारम्बार पक्राउ गरेका व्यक्तिहरू चिनाइदिन भन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।
त्यति मात्र होइन, उनले अदालतमा न्यायाधीशप्रति पनि ‘एग्रेसिभ’ व्यवहार देखिएका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशले उनीसँग ३० मिनेटभन्दा बढी समय लगाएर दोभाषेको माध्यमबाट सोधपुछ गरेका थिए ।
‘तिमीले हत्या भएका व्यक्तिलाई चिन्छौ ?,’ भनेर प्रश्न गर्दा ‘मैले सबैलाई चिन्छु, तपाईंलाई पनि अब चिन्छु,’ भनेर जवाफ फर्काएको अनुसन्धानमा खटिएका अधिकारीले लोकान्तरलाई बताए ।
‘जज् सा’बसँग पनि एग्रेसिभरूपमा प्रस्तुत भएपछि उहाँ अलि डराउनुभएको थियो,’ ती अधिकारीले भने ।
मोटरसाइकलले ठक्कर दिएको विषयमा प्रतिशोध साँध्न उनले धनकुटाका विशाल राईसहित ४ जनाको हत्या गरेको अभियोग छ ।
उनले अदालतमा पनि आफूले हत्या गरेको स्वीकारेका छन् । फरक क्षमताका उनले सुन्न र बोल्न सक्दैनन् ।
दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नविन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या गरेको अभियोग उनीमाथि छ ।