
चीनमा जारी एसिया खेलकुदमा विश्व कीर्तिमान बनाएका नेपाली क्रिकेटरहरू कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई रोयल ब्लू ब्रान्डले जनही २–२ लाख रुपैयाँ दिने भएको छ ।
देशको नाम विश्वभर फैलाएकाले उनीहरूलाई नगद पुरस्कारले सम्मान गर्न लागिएको ब्रान्ड हेड ऋतिक शाहीले बताए ।
कुशल र दीपेन्दले क्रिकेट मैदानमा गरेका असाधारण उपलब्धिहरूका लागि हामी अत्यन्तै गर्व गर्छौं,’ उनले भने, ‘उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाललाई महिमा मात्र ल्याएको छैन, क्रिकेट उत्साहीहरूको एक पुस्तालाई पनि प्रेरित गरेको छ ।’
एसियाली खेलकुदको क्रिकेटअन्तर्गत असोज १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनाएको थियो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहेका छन् ।
मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो ।
नेपाली खेलाडीले भारतका रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका थिए ।
क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले मंगलवार भारतसँग खेल्दैछ ।