नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमास समूहको आक्रमणबाट नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
इजरायल आफैंले कठिन परिस्थितिको सामना गरिरहे पनि नेपालीको रक्षा गर्नु आफूहरूको मुख्य जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन् ।
आइतवार लोकान्तरसँग कुराकानी गरेका राजदूत गोडरले गाजानजिकैको क्षेत्रमा रहेका नेपाली विद्यार्थी आतंकवादीको निसानामा परेको उल्लेख गरे ।
‘त्रिभुवन विश्वविद्यालय र एएफयू (एग्रिकल्चर एन्ड फोरेस्ट युनिर्भर्सिटी चितवन) का विद्यार्थीहरू सुरक्षित ठाउँमा छन्, दुर्गम ठाउँमा छन्, त्यसैले प्रभावित भएनन्,’ उनले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजानजिकै स्टोटनेगेफ नामक जिल्लामा रहेका कारण प्रभावित भएका हुन् ।’
राजदूत गोडरले १० नेपालीको मृत्यु हुनुको कारण हमासले फ्याँकेको ग्रिनेड भएको उल्लेख गरेका छन् ।
‘नेपाली विद्यार्थीहरू अल–उ–मिम भन्ने गाउँमा थिए । त्यस गाउँलाई हमास आतंककारीहरूले कब्जा गरे,’ गोडरले भने, ‘त्यहाँ नेपाली विद्यार्थीहरूले लुक्न खोजे, तर आतंककारीले उनीहरूलाई भेट्टाए अनि त्यहाँ ग्रिनेड फ्याँके ।’
इजरायलमा रहेका बाँकी नेपालीको रक्षा आफूहरूको जिम्मेवारी भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘उनीहरू हाम्रो परिवारका हिस्सा हुन्, हामी रक्षा गर्छौं ।’
राजदूत गोडरले हमासका करीब १ हजार आतंकवादी विभिन्न शैलीबाट इजरायली भूमिमा छिरेर आक्रमण गरेका कारण धेरै मानवीय क्षति भएको समेत उल्लेख गरेका छन् ।
‘केही आतंककारीहरूले भूमध्यसागर प्रयोग गरेर तटबाट आक्रमण गरे । केही प्याराग्लाइडिङ प्रयोग गरेर झरे । केही गाउँमा पसे, शहरमा पसे अनि मानिसहरूलाई जम्मा गरेर हत्या गर्न थाले । तिनीहरूले इजरायलको दक्षिणी भागका विभिन्न स्थानमा घरहरूमा पसेर महिला, बालबालिका र अन्य नागरिकको हत्या गरे,’ उनले भने, ‘यो जमिनी आक्रमण मात्र थिएन, यसमा तीन हजार रकेटहरू पनि समावेश थिए, जसले गाजानजिक मात्र नभएर तेलअभिव, जेरुसेलम र देशभरका विभिन्न ठाउँलाई निसाना बनाइएको थियो ।’
हमासले युद्ध अपराध गरेको भन्दै उनले आफ्ना नागरिकको रक्षा कसरी गर्ने र कसरी जवाफ दिने भन्ने कुरा इजरायलले राम्रोसँग बुझेको पनि बताए ।
हेर्नुहोस्, भिडियो कुराकानीको सम्पादित अंशः