२६ असार २०८३, शुक्रबार

कोशीको सत्ता संकट– समस्या तत्काललाई टर्‍यो, तर घटेन अविश्वास

असोज २८, २०८०
काठमाडौं
कोशीको सत्ता संकट– समस्या तत्काललाई टर्‍यो, तर घटेन अविश्वास

कोशी प्रदेशमा कांग्रेसका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्री बन्दा तत्कालको संकट टरे पनि आपसी अविश्वास र तुष भने कायमै रहेको देखिएको छ । 

सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एस र जसपाले इन्द्र आङ्बोलाई अगाडि सारे पनि शेखर कोइराला पक्षले विद्रोह गर्‍यो । 

कांग्रेसकै विद्रोही ८ सांसदले एमालेका ३९ सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्री बनाएपछि विकसित राजनीतिक घटनाक्रमले परिस्थिति अन्तै बदलेको छ ।

आङ्बोलाई समर्थन गर्ने पक्ष पछाडि हटेपछि विद्रोह गर्ने पक्ष तत्काललाई माथि परेको देखिएको छ । तर, सरकार गठनको प्रारम्भिक संकेत कोशीको संकटलाई अझै निमिट्यान्न हुने प्रस्ट संकेत देखिएका छैनन् । 

कोशी विद्रोहको बाछिटा केन्द्रमा पनि आउन सक्ने भयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले शेखरसँग हतारमा हस्तलिखित सहमति भएको छ । मुख्यमन्त्री नियुक्ति हुनुअघि नै अर्थपूर्ण रूपमा तीन नेताले गठबन्धनमा दायाँबायाँ नहुने सहमति गरेका थिए । 

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ प्रचण्ड, देउवा र शेखरको हस्तलिखित सहमतिमा उल्लेख छ । 

लगत्तै चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताएका थिए । यो भनाइले ३९ सांसदको समर्थन दिने एमालेलाई झस्काएको थियो । 

शेखरले गठबन्धनप्रति प्रतिबद्धता जनाउने र प्रधानमन्त्रीले आफूहरूकै सरकार बन्ने दाबी गरे पनि कोशीमा आइतबार फरक दृश्य देखिएको हो । 

तर, मुख्यमन्त्रीले काठमाडौंमा देउवा, शेखर र ओलीलाई भेटेर फर्किएपछि पनि सत्ता गठबन्धनलाई झस्काउने गरी मन्त्री चयन गरिदिएका छन् । 

कांग्रेसको संस्थापन पनि सरकारमा शुरूमै समेटिन्छ कि भन्ने अपेक्षाबीच मुख्यमन्त्री कार्कीले सरकारमा कांग्रेसका विद्रोही र एमालेका सांसदलाई मात्रै समेटेका हुन् । 

आफूले आइतबार सपथ लिएलगत्तै कार्कीले कांग्रेसका शमेशर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरेका छन् । 

दबाबमा मुख्यमन्त्री कार्की, संशयमा प्रचण्ड र देउवा

सकसका बीच नियुक्ति भएलगत्तै काठमाडौं आएका मुख्यमन्त्री कार्कीलाई शेखर, देउवा र ओलीले फरक-फरक दबाब बढाउँदा उनी झन् ठूलो दबाबमा परेका छन् । आफ्नो सोच र निर्णयभन्दा अलग हिसाबबाट मुख्यमन्त्री भए पनि देउवाले आफूलाई भेट्न आएका कार्कीसँग कुनै आक्रोश पोखेनन् ।

बरु आफ्नो चाहना पहिले नै प्रस्ट भनिदिएको भए हुने भन्दै गठबन्धनको भावनाअनुसार अगाडि बढ्न आग्रह गरेका थिए ।

देउवाले आक्रोशविनाको आग्रह एकातिर हुँदै गर्दा कार्कीमाथि एमाले र शेखरको पनि केही बढी दबाब रहेको उनी निकट स्रोत बताउँछ । 

‘एमालेकै प्रस्तावमा कार्की मुख्यमन्त्री हुनुभयो । तर, गठबन्धनले रातारात फेरि मिलेर जाऔं भन्दै हतारमा हस्तलिखित सहमति गर्नु लोकलाज हो,’ एमालेनिकट स्रोत भन्छ, ‘अप्ठ्यारो र कोशीमा मध्यावधिमा नजान हामीले साथ दिएका हौं । यस्तो गरे सत्ता गठबन्धनलाई तत्काल फेरि संकट आउँछ ।’

ओलीसँग भेट्न गएका कार्कीले आफू एमालेसँग गरिएको समझदारीबाट पछाडि नहट्ने बताएको स्रोत बताउँछ । अर्कोतिर शेखरले पनि केन्द्रबाट लादिएको जबर्जस्ती दबाबसामु नझुक्न आग्रह गरेर पठाएको उनीनिकट स्रोत बताउँछ । 

‘केन्द्रबाट हरेक निर्णय र दबाब लादिएको परिणामले कोशी आज यस्तो हालतमा पुगेको हो, यसैले आजको भोलि परिस्थिति सहज भएर जाँदैन,’ शेखरनिकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले शपथ लिएपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सहयोग गर्ने एमालेलाई पनि समेट्नुपर्ने बाध्यता मात्रै होइन, यो आवश्यकता नै हो । अब केही समयमा विस्तारै अवस्था सहज हुन्छ भन्ने विश्वास हाम्रो छ ।’

मुख्यमन्त्री भए पनि कार्की शुरूबाटै दबाबमा छन् ।

‘एउटा परिस्थितिले कार्की मुख्यमन्त्री हुनुभयो । पार्टीले पनि औपचारिक रूपमा मिलेर अगाडि बढ्दा सहयोग हुन्छ भनेर भनिसक्यो,’ कांग्रेस कोशीका सचेतक भूपेन्द्र राईले लोकान्तरसँग भने, ‘तर, उहाँ मुख्यमन्त्री भएपछि केन्द्र र अरू नेताकोमा धाउनुभयो । कोशी कांग्रेसमा अब कसरी अगाडि बढ्ने भनेर कुनै छलफल गर्नुभएको छैन । कांग्रेसबाटै मुख्यमन्त्री बन्दा यसरी छलफलमा समेत नआउनुले हामी नै आश्चर्यमा परेका छौं ।’

कांग्रेस नेता गुरु घिमिरे कोशीमा तत्कालको संकट टरे पनि चुनौती र समस्या अझै बाँकी रहेको बताउँछन् । ‘कोशीमा तत्कालको संकट टर्‍यो, तर चुनौती विद्यमान छन् । मुख्य चुनौती अब मुख्यमन्त्रीलाई छ, किनकि उहाँ कांग्रेसको एउटा विद्रोही पक्ष र कांग्रेसको प्रतिद्वन्द्वी एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई कांग्रेसको मूल पक्षले पनि मुख्यमन्त्री मानेको छ, तर पहिलो सरकार विस्तारमा त्यो पक्ष छुटेको देखिन्छ,’ घिमिरे भन्छन्, ‘यस्तोमा अब मुख्य चुनौती मुख्यमन्त्रीलाई नै छ । उहाँले सबै पक्षको समझदारी बनाउन सक्दा मात्रै कोशी प्रदेश सहज अवस्थामा जान्छ । यसैले सबै जोगाउने जिम्मेवारी मुख्यमन्त्रीको हो । यसमा सबै पक्षको समझदारीको आवश्यकता छ ।’

एमालेले कसरी समझदारीमा आउन चाहन्छ कि दम्भ मात्रै देखाउँछ भन्नेमा धेरै कुरा निर्भर हुने उनी बताउँछन् । ‘सत्ता गठबन्धन मुख्यमन्त्री कार्कीप्रति नकारात्मक भएको देखिएको छैन । यस्तोमा एमालेले कसरी समझदारी कायम गर्छ, एमालेले अरूलाई ढिम्किन दिन्छ कि दिँदैन ? यसमा धेरै कुरा निर्भर रहन्छ,’ गुरु भन्छन्, ‘आजको संकट टर्‍यो तर भोलि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ, यस्तोमा ठ्याक्कै ४७ को मात्रै लिने कि सरकारलाई अझै फराकिलो बनाउने, यो नयाँ प्रयोग हो यसैले कोशीको चित्र स्पष्ट छैन ।’

कोशीको संसदीय समीकरणले पनि गठबन्धन सहभागितामा सहमतिको प्रान्तीय सरकार भनेर अघि बढे सहजता हुने उनी बताउँछन् । 

‘गठबन्धन पनि सहभागी हुने हो भने सहमतिको प्रान्तीय सरकार बनाएर अगाडि बढ्न सकिन्छ,’ गुरु भन्छन्, ‘यस्तोमा एमालेको विश्वास जोगाइरहने र कांग्रेसको संख्या बढाएर जाने हो भने समस्या हुन्न अन्यथा कोशीको संकट सकिँदैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्