
इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना फिल्मलाई लिएर निकै उत्साहित छन् ।
डेब्यु अभिनेता इओनले फिल्मलाई लिएर यतिबेला नर्भसनेस, उत्साह, खुशी सबै कुरा एकैपटक महसुस गरिरहेका छन् ।
‘आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ’ उनी हल्का मुस्कुराउँदै भन्छन् ‘सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ ।’
डेब्यू अभिनेत्री सिमोन टिजर र गीतबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी छिन् । अभिनेत्री बन्ने पहिल्यैदेखिको सपना पूरा हुँदै गर्दा एकदमै खुशी लागिरहेको उनी सुनाउँछिन् ।
ताप्लेजुङ पुख्यौली घर भएका इओन हङकङमा जन्मिएका हुन् । काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । अहिले उनले फिल्म पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन फिल्म स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।
यता, नेपालगन्जकी सिमोनले केही ब्युटी पेजेन्ट, डकुमेन्ट्री हुँदै फिल्ममा डेब्यु गरेकी हुन् । हाल उनी बि.ए. दोस्रो वर्षमा अध्ययनरत छिन् ।
यी दुवैजना फिल्ममा एक अर्कासँगको सहकार्य एकदमै राम्रो भएको अनुभव सुनाउँछन् ।
इओनले फिल्ममा राम्रो को–स्टार पाएको भन्दै सिमोनले आफूले सोचेको भन्दा राम्रो काम गरेको बताउँछन् । फिल्ममा इओनसँगको सहकार्यलाई लिएर सिमोन भन्छिन् ‘एकदमै राम्रो अनुभव भयो । दुवै जना नयाँ भएपनि आफूलाई थाहा नभएको कुराहरू एक अर्कासँग सिक्दै काम गर्यौँ ।’

दुवै कलाकार फिल्ममा आफूहरूको क्यारेक्टर रियल लाइफसँग मिल्दोजुल्दो रहेको बताउँछन् । ‘मेरो वास्तविक जीवनसँग धेरै मेल खाने क्यारेक्टर छ । आकाश क्यारेक्टर ब्याचलर सकेर बसेको केटा हो, जो बाबुआमाकै पैसामा डुलेर हिँड्छ । लाइफमा त्यस्तो ठूलो केही सपना छैन । साथीसँग बाइकमा डुल्न जाँदा वसन्तपुरमा अर्को क्यारेक्टरसँग भेट भएपछि कथा अगाडि बढ्छ’ इओन वास्तविक क्यारेक्टरसँग मिल्दोजुल्दो भएका कारण पनि अभिनयमा सहज भएको बताउँछन् ।
फिल्ममा सिमोनको क्यारेक्टर चञ्चले, सबैसँग खुलेर हाँस्ने–बोल्ने खालको छ । उनी भन्छिन्, ‘म रियल लाइफमा पनि त्यस्तै छु ।’
यी दुवै कलाकार आफूहरूको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । फिल्म क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनीहरू पहिलो फिल्ममा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने अठोट गर्छन् ।
सिमोनलाई ग्रामीण परिवेशका फिल्ममा काम गर्न मन छ । ‘ग्रामीण भेगका नसमेटिएका थुप्रै कथाहरू भएजस्तो लाग्छ । हामी सहरमा बस्नेहरूलाई गाउँका धेरै कुराहरू थाहा नहुन सक्छ । त्यस्तो धेरैलाई थाहा नभएको, रियालिटी वेशका कथामा चलचित्र गर्न मन छ’ उनी भन्छिन् ।
इओन भने आफूलाई फरक–फरक खालका फिल्महरूमा काम गर्न मन रहेको बताउँछन् ।
तारा देवी लिम्बुको निर्माण रहेको ‘दुई कदम’मा इओन र सिमोनका साथमा गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङलगायतको अभिनय छ ।
लभस्टोरीका साथै कमेडी, एक्सन र कल्चरलाई समेत फिल्ममा दर्शकहरूले हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।