
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई समेत क्षति पुर्याएको छ । सो नगरपादिका भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला जाजरकोटको सीमाना भएका कारणले पनि क्षति पुर्याएको हो ।
वडा नम्बर ११ गाउँबारीका धनवीर पुन अहिले आफ्नो गाउँभन्दा १ घण्टा ३० मिनेटको पैदल हिँडाइभन्दा तल झरेका छन् । छोरीको खेतमा बसेका छन् । कपाल खौरिएका उनले सेतो वस्त्र लगाएर बसेका छन् । शुक्रवार बेलुका सँगै सुतेकी आफ्नी श्रीमतीलाई भूकम्पमा गुमाएपछि उनी काजक्रिया गर्न यहाँ बसेका हुन् ।
‘श्रीमतीको किरिया (क्रिया) गर्न बसेका छौं,’ धनवीरले लोकान्तरसँग भने । कुरा गर्ने क्रममा उनले भूकम्पले जीवनसंगिनी गुमाएको पीडा पोखे । उनी आफैँ भाग्यले बाँचेका हुन् । भूकम्प आएपछि घरमा भएको ढुङ्गाले उनलाई च्यापेको थियो । उनको ढाड र खुट्टाको भागमा ढुङ्गा बसेको थियो । उनकी श्रीमतीको भने टाउकोमा ढुङ्गा लागेकै कारण मृत्यु भएको हो ।

‘भूकम्प आएपछि मलाई र उनी (श्रीमती)लाई ठूलो ढुङ्गाले लाग्यो । उनलाई टाउको लागेकाले बच्न पाइनन्,’ धनवीरले भने ।
करिब ४–५ घण्टापछि आएर पुनको उद्धार भएको थियो । अहिले उनको हात, खुट्टा र ढाडमा चोट लागको छ । उनी अहिले उठ्न नसक्ने अवस्थामा छन् ।
यस्तै रुकुम पश्चिम आठबीस नगरपालिका १३ घितमाङमा ३०० भन्दा धेरै घर छन् । तीमध्ये कुनै पनि घर बस्न सक्ने अवस्थामा नभएको स्थानीय खडक थापाले बताए ।
‘सडकबाट करिब १ घण्टा गाडीमा माथि जानुपर्छ, त्यहाँ ३०० घर छन् कुनैमा पनि बस्न सक्ने अवस्थामा छैन,’ डोल्पा जाने सडक खण्डमा भेटिएका पुनले लोकान्तरसँग भने, ‘सबै बाहिर बसेका छन् । त्यहीँ पकाएर खाने गरेका छन् ।’
उनको गाउँमा पूर्वकुमारी शाही, खिममान बीसी, मिना बीसीलगायत ६ जनाको मृत्यु भएको थियो । उनीहरूले २ रात बाहिर पालमा सुतेर बिताएपछि आफन्तको दाहसंस्कारमा आएको बताए ।
आठबीस नगरपालिका ११ मा एउटै घरमा ४ जनाको मृत्यु भएको छ । भाडामा बस्ने मजदुरसहित ४ जनाको मृत्यु भएको स्थानीय सुशीला चन्दले बताइन् । उनको छिमेकमा रहेका टेकबहादुर चन्दको घरमा घटना भएको हो । उनका अनुसार ६५ वर्षीय चन्द, उनकी श्रीमती ५५ वर्षीया कोशिला चन्द्र र सडक निर्माण गर्न आएका बाबुछोराको मृत्यु भएको हो । ६ जना बस्दै आएको त्यो घरमा २ जनालाई चिच्याउँदा चिच्याउँदैको अवस्थाबाट उद्धार गरिएको उनले बताइन् ।
‘६ जना सुतेका थिए, भूकम्प आएपछि हामी बाहिर आउँदा बचाओ–बचाओे भन्दै थिए । सडकमा काम गर्ने अरु मानिसलाई बोलाएर उनीहरूलाई घरबाट तानेर बाहिर निकाल्यौं,’ सुशीलाले लोकान्तरसँगको कुराकानीमा भनिन् । ६ जनालाई निकले पनि अरुलाई बचाउन नसकेको भन्दै उनले दुःख व्यक्त गरिन् ।
आठबीसकोट नगरपालिकामा मृत्यु भएका अरुबारे सुशीलालाई खासै याद छैन । तर मृत्यु भएका एकजना १२–१३ वर्ष जतिका बालकको भने उनलाई झलझली याद आइरहेको छ । ‘एउटा १२–१३ वर्षको सानो बच्चा थियो, उसले आफ्नो बुवालाई ढुङ्गा ओसारेर सघाउँथ्यो, त्यो पनि बुवासँगै भूकम्पमा परेछ,’ भावुक हुँदै उनले भनिन् ।
टेकबहादुरको घरमा अहिले मृतकको दाहसंस्कार गर्ने मानिस पनि छैनन् । उनका एका छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । बुहारी काठमाडौंमा २ हप्ताकी सुत्केरी छिन् । त्यसैले आफन्तले लगेर दाहसंकार गरिदिएको सुशीलाले लोकान्तरलाई बताइन् ।
रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् । मानिसहरू खेतको खुला आकाशमै बसेर खाना जीविका चलाइरहेका छन् । त्यही खाना पकाएर खान्छन्, त्यहीँ सुत्छन् । ३ रात खुला आकाशमा बिताइसकिएको स्थानीयले बताए । ३ रात बाहिर बस्दा शितले भिजेका कपडा सुक्न घण्टौँ लाग्ने गरेको उनीहरू बताउँछन् ।

‘भूकम्प आएदेखि अहिलेसम्म हामी बाहिरै सुतिरहेकाका छौं । घरभित्र जाने त आँटै छैन । सबै घर भत्किएको छ । भित्र भएको अन्न पनि बाहिर ल्याउन आँट आएको छैन्,’ वडा नम्बर ११ का स्थानीय मनबहादुर डाँगीले भने ।
मनबहादुरहरू बाहिर बसेका छन् । भूकम्पको डरले आफ्ना चौपायालाई पनि घाँस हाल्न जान सकेका छैनन् । ३० घर परिवार भएको यस क्षेत्रमा एक हप्ताकी सुत्केरी बच्चा लिएर बाहिर खुला आकाशमा सुत्न बाध्य छिन् ।
अहिलेसम्म स्थानीय प्रशासनले त्यहाँ उपस्थिति जनाउन सकेको छैन । कारण, त्यहाँका वडाध्यक्ष प्रेम पुनको पनि भूकम्पमा परेर खुट्टा भाँचिएको छ ।
‘वडाध्यक्षको पनि खुट्टा भाँचिएको छ । उहाँ यहाँ आउनसक्ने अवस्था पनि छैन । अरु कोही आएका छैनन्,’ स्थानीय छवि डाँगीले लोकान्तरसँग भने ।
रुकुम पश्चिम सदरमुकामबाट टाढा रहेको आठबीसकोट जाजरकोटबाट नजिक पर्छ । सो क्षेत्र जाजरकोट प्रहरीको कार्य क्षेत्र नहुँदा समस्या हुने गरेको स्थानीयहरूले बताए । यस्तै कारणले राभर खुला आकाशमा बिताउन बाध्य भएको उनीहरूको गुनासो छ ।
यस क्षेत्रमा भूकम्पपीडितहरू आफ्नो घरका सामानहरू बाहिर निकालेर सुरक्षित राखेको देखिन्छ । भूकम्पले घरभित्रका खाद्यान्न नष्ट गरेका कारण मकैको रोटी खाएर उनीहरू जीविका चलाइरहेका छन् ।
‘हाम्रो घरमा भएको सबै खाद्यान्न पुरियो अहिले पर ठूली दिदीकोबाट मागेर मकैको पिठो ल्याएको हो,’ एक स्थानीय महिलाले लोकान्तरसँग भनिन् ।






