![१० रुपैयाँ किलोमा पनि तरकारी नबिकेपछि कालिमाटीका व्यापारी हैरान [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/kalimati3_4fOCk0c6wE.png)
कालिमाटीमा अधिकांश तरकारीको मूल्य घटेको छ । धेरैजसो तरकारीको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा कम छ । बजारमा काउली, काँक्रो, फर्सी र मुला प्रतिकिलो १० देखि १५ रुपैयाँमा बिक्री भइरहेको कालिमाटीका तरकारी व्यापारीहरू बताउँछन् ।
चाडबाडको बेला काठमाडौंमा तरकारी खपत कम भएकोले मूल्य घटेको उनीहरूको भनाइ छ । दशैँतिहारजस्ता ठूला चाडमा काठमाडौंबाट लाखौं मानिसहरू बाहिरिने गर्छन् ।

चितवनदेखि ल्याएको फर्सी प्रतिकेजी १० रुपैयाँमा पनि बिक्री नभएपछि छानी छानी फोहोरमा फ्याक्नु परेको कालिमाटी तरकारी बजारका एक व्यापारीले बताए । 'तरकारी खानेहरू सबै विदेशतिर गए । एयरपोर्टमा सधैँ हजारौँको भिड हुन्छ,' उनले भने, 'काठमाडौंमा भएका केही मानिसहरू गाउँ गएका छन् । अनि कसले किनिदिन्छ हाम्रो तरकारी ? नबिकेपछि फोहोरमा फाल्नुको विकल्प रहेन ।'
अर्का व्यापारी हेमराज सुनुवार पनि अरुबेला ३ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने लामो च्याउ ५० रुपैयाँ प्रतिकिलो भनेर चिच्याउँदै थिए। 'अरुबेला अढाइ/तीन सय किलोमा बिक्री हुने च्याउ ५० रुपैयाँमा पनि बिक्री हुँदैन,' च्याउको भारी देखाउँदै उनले भने, '१० किलो च्याउ तिहारभरि बिकेन । बिग्रिन लागेकोले अब फोहोरमा फाल्ने तयारीमा छु ।'

च्याउसँगै अमला, ज्यामिर, काँक्रो पनि नबिकेर फ्याँक्ने तयारीमा रहेको उनले बताए। 'पहिला किलोको एक सयमा बेचेको अमला अहिले ५० मा बेच्न खोज्दा पनि बिकेन । अब यसलाई फाल्नु पर्ने अवस्था छ । २५० मा बेच्ने भनेर १५० मा किनेको ज्यामिर ८० मा पनि बिकेन,' उनले भने, 'यसलाई पनि फाल्नु पर्ने अवस्था छ । त्यस्तै ८० मा बेच्ने भनेर किनेको काँक्रो अहिले १० रुपैयाँमा पनि नबिकेर खेर गइरहेको छ ।'
आर्थिक मन्दी र काठमाडौंमा बसोबास गर्ने मानिसहरू घटेकोले तरकारी बिक्री कम भएको उनले तर्क गरे ।
अर्का व्यवसायी नारायण विष्टको तर्क भने फरक छ । ग्राहकले महँगोलाई मात्र राम्रो मान्ने भ्रमका कारण तरकारी नबिकेको उनले बताए । 'महँगो भनेपछि मात्रै राम्रो रहेछ भन्ने भ्रम ग्राहकमा देखिन्छ । सस्तोमा बेच्दा बिग्रेको होला भनेर पनि मान्छेहरू किन्दैनन्,' उनले भने, 'पसलमा ८० रुपैयाँ किलो किनेर खान्छन् तर, यहाँ १५ ले दिँदा पनि कुहिएर बेचेको होला भन्ठानेर किन्दैनन् ।'
तरकारी नबिक्दा स्टलको भाडा तिर्नसमेत समस्या हुन थालेको व्यापारीहरू बताउँछन् ।
कालिमाटीमा मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाबाट तरकारी आपूर्ति हुने गरेको छ । थोक बजारमा तरकारीको मूल्य घटे पनि खुद्रा बिक्रेताले खासै मूल्य घटाएका छैनन् ।
आलु र प्याजको मूल्य भने खासै घटेको छैन ।
भिडियो