
सामान्यतया ठूलो सञ्जाल र संगठन हुने परम्परागत दलले मात्रै ठूलो संख्यामा भीड जम्मा गर्ने क्रमलाई व्यवसायी दुर्गा प्रसाईंले तोडिदिएका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा काठमाडौंको बल्खुमा झण्डै १० हजारको हाराहारीमा भीड जम्मा गरेका हुन् ।
मुख्यगरी प्रसाईंले राष्ट्र, राष्ट्रियता, हिन्दू धर्म, बैंक तथा वित्तीय संस्थाको मनोमानी र भ्रष्टाचारविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । मुख्यरूपमा यी विषयलाई उनले प्राथमिकतामा राखेका थिए । तर, बिहीबार एमालेनिकटको युवा संघले पनि कार्यक्रम गरेपछि सरकारले प्रसाईंलाई बल्खु र बस्नेतलाई तीनकुने क्षेत्र तोकिदिएको थियो ।
प्रसाईंको अपिलअनुसार देशका विभिन्न स्थल र उपत्यकाबाट ठूलो संख्यामा भीड बल्खुको प्रदर्शनमा पुगेको थियो । तर, प्रसाईंको आन्दोलनमा बैंक वित्तीय संस्थाका पीडितभन्दा हिन्दू राष्ट्र र राजतन्त्रवादीको नारा चर्को सुनियो ।
प्रसाईंको अपिलपछि गणतन्त्रमा नेताले निकास र विकास नदिएको, रोजगारी सिर्जना नगरेको, उद्यम र रोजगारीको प्रबन्ध नगरेको गुनासो गर्नेहरू प्रदर्शनमा सहभागी भएका थिए । फरक दलमा आस्था राख्ने पनि दलहरूको गतिविधिले प्रसाईंको अपिललाई मन पराएर आएको भेटिए ।
पेशाले कलेजमा अध्यापन गर्ने भक्तपुरका ५७ वर्षीय देवीप्रकाश बास्कोटा कांग्रेसमा आस्था राख्छन् । तर, सीमित नेताले मोजमस्ती गरेको अनि नागरिकले विधिको शासन नपाएकोमा आक्रोशित भएर आफू आन्दोलनमा आएको उनले बताए ।
‘हामीले लडेरै गणतन्त्र ल्यायौं, तर यत्रो वर्षमा के भयो ? गणतन्त्र र नगारिकका असीमित अधिकारको व्यवस्थामा पनि सीमितले मोज गर्ने र विधिको शासन देख्नै नपाइने अवस्था आयो,’ बास्कोटा भन्छन्, ‘मजदुर र प्रधानमन्त्रीलाई एउटै नियम हुनुपर्यो । तर, यहाँ शासक माथि, नगारिक तल भएपछि आक्रोश र आवेगले सीमा नाघ्यो । यसैले कांग्रेसमा आस्था राख्ने भए पनि प्रसाईंको कार्यक्रममा आएँ ।’

....
काठमाडौं कुलेश्वरका मुकुन्द मुल्मी व्यापार गर्छन् । उनी पनि कांग्रेसमा आस्था राख्छन् । तर, गएको निर्वाचनमा एमालेलाई भोट दिएका उनलाई यतिखेर प्रसाईंको अपिलले तानेको रहेछ । ‘सबैलाई हेरियो, देखियो, भोट दिइयो, तर न नागरिकले गरिखान पाए, न त देशले विकास पायो,’ उनी भन्छन्, ‘कम्तीमा प्रसाईंले यतिखेर नागरिकको हितमा बोलेको र राष्ट्रिय झण्डलाई बोकेर निस्वार्थता देखाएको हो कि भन्ने लाग्छ ।’
प्रसाईंको प्रदर्शनमा भेटिएका कांग्रेस नेता राजेन्द्र केसी (काठमाडौं– १० का सांसद)का दाई कृष्णबहादुर केसी पनि दलप्रति आक्रामकरूपमा प्रस्तुत भए ।
‘माओवादीले झुटो कुरा गर्यो । हाम्रो कांग्रेस पनि उसकै सती गयो । मतियार भयो । जनताले राहत र इन्साफ कहिल्यै पाएनन् । ज्यानमारा छाड्ने र भ्रष्टाचारी प्यारो हुने क्रमलाई नेताले तोडेनन्,’ उनी भन्छन्, ‘स्थानीय तह ठीक छ, अझै धेरै अधिकार दिनुपर्छ । तर, संघीयता देशको गलगाँड भए पनि नेताहरूले यसलाई बोक्न छाडेका छैनन् । गुलियो नाराले अब जनतालाई ठग्ने दिन गए, यसैले यस्ता अभियान हिट भइरहेका छन् ।’
....
नेपालगञ्जबाट आएका राष्ट्रवादी नागरिक समाजका अध्यक्ष भुवन श्रेष्ठ पेसाले अधिवक्ता हुन् । तर, उनी देशमा हिन्दू राष्ट्र र राजतन्त्र कायम गर्नुपर्ने प्रसाईंको नारा ठीक भएको बताउँछन् । ‘राजतन्त्र भएन भनेर दलहरूले फालेको १५ वर्षभन्दा बढी भयो । तर, नागरिकको जीवनमा कहाँ के सुधार आयो ?,’ उनी प्रश्न गर्छन्, ‘कम्तीमा राजतन्त्रमा त एउटा राजामात्रै हुन्थे, अहिले हजारौं राजालाई पाल्नुपरेको छ ।’
नेपालगञ्जकै ७६ वर्षीय बाबुलाल ठाकुर पनि प्रसाईंको अपिलपछि गरिखान पाइन्छ कि भनेर जुलुसमा आएको बताउँछन् । ‘सबैले हामी जनताकै लागि हो भनेर नारा दिए, तर जनताको स्तर कहिल्यै माथि गएन,’ उनी भन्छन्, ‘अब प्रसाईंले निकास र विकास दिन्छन् भन्ने सुन्यौं अनि काठमाडौं आयौं ।’

....
पोखराबाट आएकी राप्रपा राष्ट्रवादीकी नेतृ पार्वती गौतम पनि प्रसाईंको हिन्दूत्व र राजतन्त्रको नारा उचित लागेको बताउँछिन् । ‘हामीले त पहिलेदेखि नै हिन्दू धर्म र राजतन्त्रलाई मान्दै आएका छौं,’ उनले भनिन्, ‘हाम्रो एजेन्डा प्रसाईंले बोकेपछि यो कार्यक्रममा आएका हौं ।’
सिन्धुपाल्चोक घर भएर ललितपुरको कुपण्डोलमा होर्डिङ बोर्ड बनाउने काम गर्दै आएका कृष्ण भण्डारी पछिल्लो केही वर्षयता आफ्नो व्यवसाय चौपट भएको बताउँछन् ।
‘४/५ वर्ष अगाडिसम्म मैले होर्डिङ बोर्ड बनाउने व्यवसायमा १०/१२ जनालाई रोजगारी दिएको थिएँ । तर, पछिल्ला वर्षहरूमा म एक्लै पनि यो पेशामा टिक्न कठिन भइरहेको छ । एक जनालाई पनि रोजगारी दिन नसक्ने अवस्थामा आइपुगेको छु,’ उनी भन्छन्, ‘हामी साना उद्यम गर्नेलाई बैंकलेसमेत पत्याउँदैन । थोरै ऋण लिन पनि सकस छ । यसैले साना व्यवसायीको पनि हित गर्छु भन्ने प्रसाईंको अपिल मन परेर म आन्दोलनमा आएको हुँ ।’
तर, धर्म, गणतन्त्र वा राजतन्त्रसँग आफूलाई मतलब नभएको उनी बताउँछन् ।
‘हिन्दू राष्ट्र, राजा वा अरू नेताले आ–आफ्नो स्वार्थ पूरा गर्ने एजेन्डा हुन्,’ उनी भन्छन्, ‘हामीलाई राज्यले अतिरिक्त केही गर्नुपर्दैन । देशमा गरिखान र सानो भए पनि उद्यम गरेर बस्न सक्ने वातावरण बनाइदिए पुग्छ ।’
....

ललितपुर सातदोबाटोका सरोज घिमिरे र आभाष घिमिरे दुवै २८ वर्षका भए । उनीहरूको फूड प्रोडक्टसम्बन्धी पारिवारिक बिजनेस छ । विदेश जान्छुभन्दा परिवारले पारिवारिक बिजनेस सम्हाल, यहीँ केही गर भनेपछि उनीहरू रोकिएका रहेछन् ।
तर, अहिले परिवारका सदस्यहरूले नै विदेश जाऊ भन्न थालेको उनीहरू बताउँछन् ।
‘बाबामामुले पहिले विदेश नआऊ, स्वदेशमै केही गर भनेपछि राम्रो युनिभर्सिटीमा पाएको स्कलरशिप पनि त्यागेर यहीँ बस्यौं,’ बल्खुको प्रदर्शनमा भेटिएका दाजुभाइले भने, ‘अब बाबामामुले नै राम्रो कलेज खोज, विदेश गइहाल भन्न थाल्नुभएको छ । चप्पल लगाएर भए पनि विदेश नै जाने हो ।’
उद्यम गर्छु भन्ने र करदाताले पाउनुपर्ने सुविधा पाउनुपर्ने प्रसाईंको माग मन परेर आन्दोलनमा आएको उनीहरू बताउँछन् ।
‘२०६२/०६३ सालको आन्दोलनमा हामी साना थियौं । घरको छतबाट आन्दोलनकारलाई पानी छ्याप्थ्यौं, त्यसयता हामी पहिलोपटक कुनै समूहको आन्दोलनमा आएका हौं,’ दुवैले एक स्वरमा भने, ‘हामीलाई राजा वा धर्मसँग मतलब छैन । बैंकको ऋण मिनाहा पनि गर्नुपर्दैन । राज्यले सक्छ भने नसक्नेको ब्याज मिनाहा वा छूट दिएर सहजै उद्यम गर्ने वातावरण बनाइदिए हुन्छ भन्ने मात्रै हो ।’

....
हेटौंडा घर भएकी मञ्जु ल्हो महंगो शिक्षा र स्वास्थ्य प्रणाली तथा मूल्यवृद्धिबाट आजित भएर आन्दोलन हेर्न आएको बताउँछिन् । ‘मेरो घर हेटौंडा भए पनि यहाँ जनताको पक्षमा आन्दोलन हुँदैछ छ रे भन्ने सुनेर हेर्न आएको हुँ,’ उनी भन्छिन्, ‘मलाई अरू चासो छैन, तर हाम्रा बच्चाले सुलभ शिक्षा र सहजै उपचार गर्न पाऊन् । देशमै केही इलम गरेर यहीँ बस्न सकुन् भन्ने मात्रै लागेको छ ।’
हिजो राजालाई हटाएर गणतन्त्र ल्याए पनि नागरिकको जीवनस्तर जहाँको त्यहीँ भएपछि फेरि मिओको रूपमा राजा चाहियो भनेर सडकमा नारा लागेको उनी सुनाउँछिन् ।
....
ओखलढुंगाका ७० वर्षीय वेदप्रसाद खतिवडा जनता जोगाउन प्रसाईंले अगाडि सारेको मुद्दाले आफूलाई तानेको बताउँछन् ।
‘ठूला नेताले वर्षौंसम्म जनताको मात्रै कुरा गरे, तर महसुस हुने गरी के दिए त ? उही बेरोजगारी, उही पछौटेपन, बरु दिन्छु भनेर देशलाई नै कमजोर बनाए,’ उनी भन्छन्, ‘कम्तीमा प्रसार्ईंले यतिखेर जनताका लागि केही काम गर्छु भनेर आशा जगाएका छन् । यसैले म ७० वर्षको बुढो पनि आएँ ।’
....
काठमाडौं मालीगाउँका अजित थापाले सुशासन दिनुपर्छ भन्ने प्रसाईंको माग ठीक भए पनि उनले आन्दोलन र अभियानलाई राम्रो गरी नेतृत्व दिन नसकेको बताए ।
‘प्रसाईंले सुशासन दिनुपर्छ । नागरिकलाई गरिखान दिनुपर्छ भनेर चर्को कुरा गरेको सुनेर आएका हौं, तर आन्दोलनमा आउँदा कुनै कमान्ड गर्न सकेको वा एजेन्डामा प्रस्ट बोलेको देखिएन,’ उनी भन्छन्, ‘जुलुसको सही नेतृत्व गरेर भीडलाई एकत्रित गर्ने खुवी पनि उहाँमा देखिएन ।’ यद्यपि अहिलेका नेताको चालचलनले जनतामा धेरै आक्रोश बढेको उनी बताउँछन् ।

....
ललितपुरको महालक्ष्मी नगरपालिकाका नातिबाबु केसी पेन्सन होल्डर हुन् । तर, उनलाई एउटा राजाको ठाउँमा हजारौं राजाले देशमा शासन गरेको मन परेको छैन ।
‘पहिले एउटा मात्रै राजा दिए, तर अहिले जनप्रतिनिधिका नाममा हजारौंले शासन होइन, कुशासन दिएका छन्,’ उनले भने, ‘हामीले दलहरूलाई वर्षौंसम्म हेर्यौं । मौका दियौं, तर दलहरूले हामीमा विश्वास जगाउन सकेनन् ।’
....
नवलपरासीबाट ३८ सय जनाको नेतृत्व गरेर आएको दाबी गर्ने इन्द्र सिग्देल होटल व्यवसाय चौपट भएको बताउँछन् ।
‘म पहिले अरूलाई रोजगारी दिन्थें, तर अहिले होटल नै बन्द गरेर हिँड्नुपर्ने अवस्था आयो,’ उनी भन्छन्, ‘यस्तोमा राज्यले हामीलाई कहाँ के गर्यो ? अवसर पाउँदा देश, नागरिक र राष्ट्रियताको सबालमा प्रभावकारी काम गर्न नसकेपछि हामी प्रसाईंको नारामा लोभिएर आएका हौं ।’
माथि उल्लेखित प्रतिनिधिमूलक आवाज हुन् । आन्दोलनमा भेटिएका ५० जनाभन्दा बढीसँग कुराकानी गर्दा अधिकांशको धारणा यसै आसपासमा केन्द्रित थियो ।