
सामाजिक सञ्जाल टिकटकमा केही दिनअघि एमाले नेता महेश बस्नेत र एक महिलाको भिडियो एकाएक भाइरल भयो । त्यही भिडियोका विषयमा बोलेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोले सोधपुछका लागि बोलायो ।
प्रहरीले उनलाई बोलाएर सोधपुछ गर्यो । अब जथाभावी नबोल्ने भनेपछि उनलाई यत्तिकै छाडियो । उनले सामाजिक सञ्जाल टिकटक र फेसबूकमा आएका विषयलाई लिएर टिप्पणी गरेपछि महेश बस्नेतलगायतका ५ जनाले उजुरी दिएका थिए ।
त्यसपछि साइबर ब्यूरोले महेश बस्नेत र एक महिला सँगै देखिएको भिडियोका विषयमा अनुसन्धान गरिरहेको छ । बस्नेतले एआईमार्फत बनाइएको भिडियो भनेर दाबी गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको ब्यूरोका प्राविधिक समेत रहेका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
‘एआई प्रयोग गरेर भिडियो बनाएको हो कि भन्ने कुरा पनि छ, सोही कारण त्यसतर्फ अनुसन्धान भइरहेको छ । यसो हेर्दा हाई क्वालिटीमा बनाएर एआई नदेखाउनका लागि लो–क्वालिटीमा अपलोड गरेको जस्तो पनि देखिन्छ,’ ती अधिकारीले भने ।
ब्यूरोले महेश बस्नेतको भिडियो आउने समयमा फ्लिप भएकोजस्तो देखिएकाले आशंका गरेको छ ।
पछिल्लो समय विश्वमा एआईको प्रयोग व्यापक मात्रामा बढिरहेकाले यस्ता समस्याहरू देखिन थालेको साइबर ब्यूरोका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।
‘पछिल्लो समयमा एआईको व्यापक प्रयोग भइरहेको छ । त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ,’ एसएसपी अर्यालले लोकान्तरसँग भने ।
विश्वमा राम्रो कामका लागि एआई प्रयोग भइरहे पनि त्यसले समस्या समेत निम्त्याएको उनले बताए । उनका अनुसार एआई दुरुपयोग गरेर अपराध भएको विषयमा निवेदन भने आएको छैन ।
‘अहिलेसम्म एआईको दुरुपयोगको विषयमा कुनै पनि उजुरी आएको छैन,’ एसएसपी अर्यालले भने ।
तर, पछिल्लो समय एउटा व्यक्तिको फोटोमा अर्कै टाउको राखेर सामाजिक सञ्जालमा प्रचार गर्ने, भिडियोहरू इडिट गरेर अर्कैको बनाउने, एआईको माध्यमबाट अर्कैको अडियो बनाउनेजस्ता समस्याहरू देखिन थालेको साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले बताए ।
‘पछिल्लो समय समस्या देखिन थालेका छन् । एआईको माध्यमबाट नेताहरूको अडियो बनाउने, भिडियोमा अर्कैको अडियो राख्ने खालका समस्या देखिएका छन्,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।
उनका अनुसार नेपालमा भन्दा भारतमा एआईको दुरुपयोगले धेरै समस्या निम्तिएका छन् ।
दक्षिण भारतीय नायिक रस्मिका मन्दनाको ‘डीप फेक’ तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको थियो । त्यो विषयलाई लिएर कानूनी लडाइँको विषय पनि उठेको थियो । त्यस्तो समस्या नेपालमा पनि आउनसक्ने इन्स्पेक्टर खड्गीले बताए ।
‘भारतीय नायिका रस्मिकाजस्तो समस्या नेपालमा पनि नआउला भन्न सकिँदैन,’ उनले भने ।
विभिन्न एपहरूको प्रयोग गरेर फोटो र भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेर चरित्र हत्या गर्ने समस्या रहेको उनले बताए ।
यस्तो अपराधमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कानुनी कारबाही हुने एसएसपी अर्यालले बताए । ‘अहिले प्रविधिको दुरूपयोग गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही हुन्छ,’ उनले लोकान्तरसँग भने ।
‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ ऐनको दफा ४७ (१)मा भनिएको छ ।
कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक–पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुनेछ पनि ऐनमा उल्लेख छ ।
ब्यूरोका अनुसार नग्न तस्वीरमा अर्कै व्यक्तिको अनुहार राख्ने, अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्ने, सूचना आफ्नोमा नियन्त्रणमा लिएर फिरौती माग्ने, अर्कैको फेसबूक पेज खोलेर बेइज्जत गर्ने जस्ता उजुरीहरू आइरहेका छन् ।
ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि अहिलेसम्म अर्थात २०८०/०८१ सम्म ६ हजार १४५ उजुरी परेका छन्, त्यसमध्ये फेसबूकमा मात्रै ४ हजार ६९८ वटा, भाइबरमा १२ वटा, ह्वाट्सएपमा २८६ वटा, इन्स्टाग्राममा २४७ वटा, टिकटकमा ६५४ वटा उजुरी परेका छन् ।