
काठमाडौं, १२ असोज — नवरात्रिको आठौं दिन भगवती माताको आठौं स्वरूप महागौरीको पूजा गरिन्छ । शंख र चन्द्रमाको जस्तो सेतो वर्णधारी देवी महागौरी भगवान् शिवको अर्धांगिनी हुनुहुन्छ । कठोर तपस्यापछि देवीले शिव भगवानलाई पति रूपमा प्राप्त गर्नुभएको थियो ।

शिवजीको कठोर तपस्याका कारण देवीको शरीर अत्यन्त कालो भएपछि उहाँले प्रसन्न भएर गोरो वर्ण हुने वरदान दिनुभएको थियो । त्यही गौर वर्णका कारण उहाँको नाम गौरी रहन गयो ।
महागौरीको आराधनाबाट भक्तहरूका सबै कष्ट भाग्छन् र भक्तको जीवनमा पवित्र एवं अक्षय पुण्य प्राप्ति हुन्छ ।
देवी महागौरीको आराधना गर्ने मन्त्र यो हो :
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा।।
महागौरीको पूजा गर्दा पहेंलो वस्त्र धारण गर्नुस् । उहाँसमक्ष दियो बाल्नुस् र उहाँको ध्यान गर्नुस् ।
पूजामा सेतो र पहेंलो फूल चढाउनुस् । देवीलाई सुगन्ध पनि चढाउनुस् ।
मध्यरातमा गरेको पूजा बढी फलदायी हुन्छ ।
आश्विनशुक्ल अष्टमीमा कन्याहरूलाई भोजन गराउँदा पुण्य प्राप्त हुन्छ ।