
पाँच वर्षअघि सांगीतिक क्षेत्रमा उदाएका संगीतकर्मी हुन् श्रीधर अधिकारी ।
२०७५ सालमा पहिलोपटक गीत रेकर्ड गराएका उनले त्यसयता झन्डै १ सय गीतमा काम गरिसकेका छन् । उनी पछिल्लो समय लगातार रुपमा गीत ल्याइरहने संगीतकर्मीमा पर्छन् । दुई दर्जन हाराहारी गीतमा स्वर दिएका उनले संगीत भरेका गीतको संख्या त्योभन्दा धेरै छ । केही गीतको शब्द लेखेका छन् ।
उनले तीन साताअघि आफ्नै युट्युब च्यानलबाट ‘बाडुल्की ला होला...’ बोलको गीत सार्वजनिक गरेका थिए । उनी र गायिका शान्तिश्री परियारको यूगल स्वर रहेको गीतले राम्रो भ्युज पाएको छ । यतिबेला उनी केही नयाँ गीतको तयारीमा छन् ।
‘८–९ वटा गीतहरूको काम भइरहेको छ । ति गीतहरू क्रमशः सार्वजनिक हुनेछन्’ उनले भने ।
अधिकारीलाई लाग्छ, इमानदारिता र अनुशासन हरेक व्यक्तिमा हुनुपर्छ । त्यो कुरा सर्जकमा अझ बढी लागू हुनुपर्ने उनी बताउँछन् । सर्जकमा इमानदारिता र अनुशासनसँगै धैर्यताले पनि अर्थ राख्ने बताउँछन् ।
आफूले निरन्तर काम गरिरहनुको कारण आफूमा रहेको इमानदारिता र अनुशासन पनि रहेको उनको भनाई छ ।
उनको बुझाई छ, ‘आज आएर भोलि उपलब्धि खोजेर पाइँदैन । भाग्यवश वा भाइरलका हिसाबले केही प्रतिभाहरू एक्कासि उदाउनु नौलो कुरा भएन । तर, सफलता पाउनका लागि धैर्यता आवश्यक हुन्छ । आफ्नो सिर्जनालाई लामो समयसम्म जीवन्त राख्नेहरूले संघर्ष पनि लामै गरेका हुन्छन् ।’ साङ्गीतिक क्षेत्रमा आफूले पाएको उपलब्धिमा सन्तुष्टि रहेको बताउने अधिकारी आफूमा धैर्यता रहेको बताउँछन् ।

पछिल्लो समय म्युजिक भिडियो निर्माण घटेको छ । गायक अधिकारी निर्माण घट्नुका साथै बनिरहेका भिडियो पनि कम बजेटमा निर्माण भइरहेको बताउँछन् । ‘अहिले महँगो बजेटका भिडियो कम बनेका छन् । विगतमा ४–५ लाखसम्म समेत लगानी गरेर समेत काम गरियो । अहिले मैले ल्याउने गीतको भिडियो ठिक्क बजेटमा बनिरहेका छन्’ उनले भने, ‘कम बजेटमा काम गर्दा गीत नचले पनि लगानीकर्तालाई मर्का पनि कम पर्छ ।’
म्युजिक भिडियो निर्माण गर्दा महँगो लगानी लाग्ने र युट्युबबाट मात्र त्यो लगानी उठ्ने सम्भावना कम रहेकाले पछिल्लो समय सर्जकहरू अन्य डिजिटल प्लेटफर्मतर्फ समेत आकर्षित भइरहेका छन् । यस्तोमा आफूले पनि विभिन्न अडियो एपलाई प्राथमिकता दिनेगरी सिर्जनाहरू ल्याउने गरेको उनी बताउँछन् । त्यसो गर्न सकियो भने केही सहज हुने उनको बुझाई छ ।
‘लाली जोवन’, ‘मेरो तस्वीर’, ‘कपालै कोरी’, ‘बाजा तालमा’, ‘लाम्नी हो र माया’, ‘मुटुमै घाउ छ’ संगै केही साता सार्वजनिक ‘‘बाडुल्की ला होला...’जस्ता उनका गीत रुचाइएका छन् ।

प्रमोद खरेल जस्ता स्थापितदेखि एलिना चौहान, रचना रिमालजस्ता नयाँ पुस्ताका चर्चित गायक–गायिकासँग अधिकारीले काम गरिसकेका छन् ।