३२ असार २०८३, बिहीबार
प्रहरीमा मोटोपनको समस्या

प्रहरीका हाकिमलाई भुँडीको भारी !

पुस ३, २०८०
काठमाडौं
प्रहरीका हाकिमलाई भुँडीको भारी !

प्रहरी भन्नेबित्तिकै आममानिसको दिमागमा आउने दृश्य हो, ‘निलो बर्दी, चिटिक्क परेको शरीर’ । शारीरिक तन्दुरुस्ती पेशागत प्रकृति नै हो ।

तर, अहिले त्यो परिभाषा फेरिएको छ । प्रहरीका हाकिमहरू ठूलो भुँडी भएको, ३/४ जना जवान अगाडि–पछाडि लगाएको  अवस्थामा देखिन्छन् ।

प्रहरीमा मोटोपना एउटा समस्याको रूपमा रहेको छ । प्रहरी प्रधान कार्यालयले मातहतका कर्मचारीको शारीरिक तन्दुरुस्तीका विषयमा अनुगमन गरिरहन्छ, तर त्यहाँ नै बढी तौल भएका प्रहरी अधिकारीहरू छन् । 

विशेष गरेर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सम्म ‘ओभर वेट’को समस्या छ । त्यसमा पनि प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयमा मोटोपनाको समस्या धेरै देखिन्छ ।

प्रहरी मानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर हरेक प्रहरी कार्यालयका हाकिमलाई आफू मातहतका कर्मचारीलाई तन्दुरुस्त राख्न र आवश्यक व्यायाम गराउन निर्देशन दिइएको बताउँछन् ।

‘हामीले प्रहरीका सबै युनिटका प्रमुखलाई आफ्ना कर्मचारीलाई तन्दुरुस्त राख्न निर्देशन दिएका छौं र प्रहरी प्रधान कार्यालयमा पनि त्यसका लागि बेलाबेलामा निरीक्षण तथा अनुगमन भइरहन्छ,’ आईजीपी कुँवरले भने । 

तर, प्रहरीमा मोटोपना नियन्त्रण गर्ने स्पष्ट कानूनी व्यवस्था भने छैन । आईजीपी कुवँरले प्रहरीमा डीजीआईएम (लम्बाइअनुसारको मोटोपन) सिस्टम लागू गर्न खोजे पनि त्यो प्रयास सफल हुन सकेको छैन ।

‘प्रहरीमा डीजीआईएम लागू गर्न खोज्दा व्यावहारिक कठिनाइ देखियो,’ आईजीपी कुँवरले भने ।

आईजीपी कुवँर आफू भने दैनिक २४ किलोमिटरसम्म दौडिने गरेका छन् । प्रहरी सेवामा प्रवेश गरेसँगै दैनिक दौडिरहेका उनी आईजीपी हुँदा समेत दौडिन छाडेका छैनन् । 

‘म दैनिक दौडिने गरेको छु । अहिले जाडोको समय भएकाले अलि बाहिर कुदेको छैन, तर भित्र व्यायाम गरेको छु,’ आईजीपी कुँवरले भने । 

तौल बढी भएकालाई शान्ति सेना मिसनलगायतका विभिन्न अवसरबाट वञ्चित गर्ने गरिएको छ । काठमाडौंमा मात्रै होइन, उपत्यकाबाहिरका जिल्लामा पनि प्रहरी हवल्दारदेखि माथिका हाकिमहरू शरीर भद्दा देखिन्छ । त्यस्ता प्रहरी कर्मचारीहरू झडप हुँदा दगुर्न सक्दैनन्, थोरै दगुर्दा पनि स्वाँ–स्वाँ गर्ने समस्या छ ।’

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले भुँडी घटाउने अभियान ल्याएका थिए । त्यसपछि प्रहरीका अधिकांश हामिकहरू भुँडी घटाउने अभियानमा लागेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्यो बेलामा औपचारिकरूपमा नभएर अनौपचारिकरूपमा अभियान चलाइएको थियो ।​

शारीरिक तन्दुरुस्तीको विषय नियमावलीमै राख्नुपर्छः पूर्व आईजीपी, धिरज सिंह

फौजी संगठनमा रहने कर्मचारी आफ्नो तौलको विषयमा सचेत रहनुपर्ने पूर्व आईजीपी धिरजप्रताप सिंह बताउँछन् ।

एसएसपीदेखि माथि सुपरभाइजरी काम हुने भएकाले त्यसमा ध्यान नदिने गरिएको उनले बताए ।

‘एसएसपीदेखि माथि समस्या धेरै छ । सुपरभाइजरी काम हुने भएकाले फिल्डमा जाँदैनन् । आफूले व्यायाम नगर्ने भएकाले समस्या देखिएको हो,’ पूर्वआईजीपी सिंहले लोकान्तरसँग भने ।

खानपिनले गर्दा पनि प्रहरीमा मोटोपनाको समस्या देखिएको उनको भनाइ छ ।

‘प्रहरीका हामिकहरूले अलि बढी खानपिनमा ख्याल नगरेको देखिन्छ,’ उनले भने । नेपाली सेनाजस्तै उमेरअनुसार आफ्नो तौल र तन्दुरुस्तीका लागि प्रहरी नियमावलीमै व्यवस्था गर्नुपर्ने उनले बताए । 

‘यो एआईजीले डीआईजीलाई, डीआईजीले एसएसपीलाई भनेर सम्भव हुँदैन, प्रहरी नियमावलीमै व्यवस्था गरे सबैलाई बाध्यकारी हुन्थ्यो । त्यसैले नियमावलीमै राख्नुपर्छ,’ पूर्व आईजीपी सिंहले भने । व्यक्तिगत विषय भएकाले पनि हाकिमहरूले तल्लो तहका कर्मचारीलाई भनिरहँदा नटेर्ने समस्या देखिन सक्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्