
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष सुन तस्करीका लागि दुरुपयोग हुँदै आएको छ । मंसिर २२ गते १४ केजी सुनसहित गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरिएको थियो ।
उनले ज्याकेटमा राखेर ल्याएको सुन बरामद भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गम्भीर लापरबाही उजागर भएको हो ।
घलेले ल्याएको सुनलाई भीआईपी कक्ष प्रयोग गरेर बाहिर ल्याउने योजना रहेको अनुसन्धानमा खुलेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले बताए ।
‘उनीहरूले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्ने योजना बनाएको देखिन्छ,’ पाण्डेले लोकान्तरसँग भने ।

यसभन्दा अगाडि लेकबहादुर तामाङ र शेरबहादुर बस्नेतले पनि भीआईपी कक्षको प्रयोग गरेर सुन ल्याएको अनुसन्धानमा खुलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा दुईवटा एक्सरे मशिन छन्, तर ती मशिनहरू चल्दैनन् ।
एक्सरे मशिन प्रयोग गर्न आग्रह गर्दा भीआईपीहरूले प्रतिवाद गर्ने गरेको विमानस्थलका कर्मचारीहरू बताउँछन् ।
‘भीआईपीलाई एक्सरे प्रयोग गर्न अनुरोध गर्नु भनेको हाम्रो जागिर जानु हो, नयाँ कर्मचारीले भनिहाले पनि उसले गाली खान्छ,’ एक कर्मचारीले लोकान्तरसँग भने ।
विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डे पनि यसमा सहमत छन् ।
‘२ वटा एक्सरे मशिन छन्, भीआईपी आउँदा प्रयोग हुँदैनन्, उहाँहरूलाई प्रयोग गर्नुस् भन्ने आँट पनि कसैको छैन,’ पाण्डेले लोकान्तरसँग भने ।

पाण्डेका अनुसार त्यही कमजोरीको फाइदा तस्करहरूले उठाएका छन् ।
भरियाले बोकेर ल्याएको सुन व्यवस्थापनको काम लेकबहादुर र शेरबहादुरले गर्ने गरेका थिए ।
भरियाले ल्याएको सुन विमानबाट झारेपछि कमर्सियल इर्पोटेन्ट पर्सन (सीआईपी) बस्ने कक्षनजिकैको शौचालयमा रहेको डस्टबिनमा फाल्ने र सरसफाइ कर्मचारीहरूले त्यसलाई भीआईपी कक्ष हुँदै बाहिर ल्याउने गरेको पाइएको छ ।

प्रहरीलाई चेक गर्ने अधिकार छैन, बाहिरका सेक्युरिटीले गर्छन् यात्रुको चेकजाँच
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने व्यक्तिहरूको सामान चेकजाँच गर्न पाउने अधिकार भन्सार विभागलाई मात्रै छ । त्यो पनि सामानहरूको भन्सारका लागि मात्र हो ।
व्यक्तिहरूलाई चेक गर्न पाउने अधिकार सुरक्षा निकायलाई हुनुपर्ने हो, तर त्यस्तो अधिकार दिइएको छैन । बाहिरबाट सेक्युरिटीका लागि राखिएका गार्डले भने चेकजाँच गर्छन् ।
‘सेक्युरिटी गार्डहरूले यात्रुको चेकजाँच गरिरहेका हुन्छन्, त्यो अधिकार उनीहरूलाई छ कि छैन, थाहा छैन,’ विमानस्थल भन्सारका एक अधिकारीले भने ।
यात्रुहरू अध्यागमनबाट पास भइसकेपछि विमानस्थलभित्र तल्लो तल्लामा आउने लिफ्ट र एलिभेटर छ । त्यही बाटो हुँदै यात्रुहरू बाहिर आउँछन् । त्यहाँ आएपछि आफ्नो लगेज लिन्छन् । लगेज लिएपछि बाहिर जाने बाटो छ । त्यो बाटोमा एक्सरे मशिन पनि छ । त्यहाँ विमानस्थलका सेक्युरिटी गार्डहरूले चेकजाँच गर्छन् । कानूनीरूपमा उनीहरूलाई त्यो अधिकार नभएको विमानस्थलका कर्मचारीहरू बताउँछन् ।

एकपटक सुन विमानस्थल बाहिर निकालेको १ लाख ५० हजार
विमानस्थलबाट १४/१४ किलो सुन ल्याउँदा त्यहाँ संलग्न व्यक्तिहरूले १ लाख ५० हजार रुपैयाँ पाउने गरेको तथ्य खुलेको छ । अघिल्लो महिना बरामद १४ केजी सुनको अनुसन्धान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार उनीहरूले एक–पटक सुन बाहिर निकालेबापत १ लाख ५० हजार रुपैयाँ पाउने गरेको खुलेको छ ।
‘उनीहरूले एकपटकमा जति ल्याए पनि १ लाख ५० हजार पाउने गरेको बयानमा बताएका छन् । त्यो पैसा काम गर्ने ३/४ जनाले जुन दिन सुन आउँछ, त्यही दिन बाँडेर लिने गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।
उनीहरूले अहिलेसम्म कतिपटक विमानस्थलबाट सुन पास गराए भन्ने विषयमा भने खुलेको छैन ।
१४ केजी सुन तस्करीमा अहिलेसम्म १० जनालाई पक्राउ गरेर विभागले अनुसन्धान गरिरहेको छ । केही व्यक्तिहरू फरार रहेको विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले बताए ।
‘१० जना पक्राउ परेका छन् भने केही व्यक्तिहरू अझै पनि फरार छन्, उनीहरूलाई पनि खोजिरहेका छौं,’ पाण्डेले लोकान्तरसँग भने ।
पक्राउ परेका सरसफाइ कर्मचारीहरू सुशीला पाण्डे, गणेश चेपाङ र कपिल ओझा १४ केजी सुन प्रकरणमा संलग्न भएको पुष्टि हुन बाँकी छ ।
शेरबहादुर बस्नेत, लेकबहादुर तामाङलगायतका व्यक्तिहरू भने संलग्न भएको पुष्टि भइसकेको प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए ।