
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो ।
सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।
चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् भने मोडल तथा टिकटकर मिस पवि ‘पवित्रा साकी’ र सिम्रन पन्तले पनि ‘राजमहल’बाट चलचित्रमा डेब्यु गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अस्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही सिन खिचिने जानकारी गराइयो । चलचित्रको बाँकी ७० प्रतिशत छायांकन भने नेपालमै गरिने छ ।
चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता परिचत अनुहारसहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो अन्य चारित्रिक भूमिकामा देखिने भएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्नेछन् ।
निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् । अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अस्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।
कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन् । अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन् । अभिनेता रमेश उप्रेतीले चाहीँ अहिले नै आफूले ठूलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए ।
कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किँदा नेपालको राज दरबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक–फरक मत राखेका थिए ।