
गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन ।
आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ ।
जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आईसीयू) भवनको निर्माण गरिएको थियो ।
भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आईसीयूको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्को तर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्मे बनेका छन् ।
‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्’, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘छिटोभन्दा छिटो सञ्चालन गरेमा आईसीयूको सेवा लिन पाल्पा वा बुटवल जानुपर्ने बाध्यता हट्ने थियो ।’
आईसीयूको संरचना निर्माणमा हालसम्म रु ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा रु ६६ लाख २६ हजार नौ सय २५ गरी कुल रु एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ ।
प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ ।
‘पाँच शय्याको आईसीयू सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध छैन’, अस्पतालका प्रमुख डा विकास बञ्जाडेले भने, ‘हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौं ।’
अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन् ।