
भारतको अयोध्यामा प्राण प्रतिष्ठा समारोहको तयारी तीव्र गतिमा चलिरहेको छ । राम मन्दिर ट्रस्टको तर्फबाट समारोहमा सरिक हुने पाहुनाका लागि निमन्त्रणा पठाउने काम पनि भइरहेको छ । यसै सिलसिलामा भगवान् रामको ससुराल नेपालका २५ जनालाई निमन्त्रणा पठाइएको समाचार भारतीय सञ्चारमाध्यम आजतकले छापेको छ ।
अयोध्यामा २२ जनवरीमा हुन गइरहेको प्राण प्रतिष्ठाका लागि रामको ससुराल जनकपुरधामका मूल महन्तसहित धेरै महन्तहरूलाई निमन्त्रणा पत्र पठाइएको छ ।
यस्तै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरका मूल पुजारी गणेश रावत महन्तहरू तपेश्वर दास, रामरोशन दास, पुज्य स्वामी मोहनशरण देवाचार्य, स्वामीहरू महायोगी कृष्ण दास, नन्दकिशोर भारद्वाज, चतुरभुजाचार्यलगायतलाई पनि निम्तो पठाइएको छ ।
यसका साथै उद्योग जगत सह राष्ट्रिय स्वयंसेवक संघसँग आबद्ध व्यक्तिहरूलाई पनि निमन्त्रणा पत्र पठाइएको छ ।
प्राण प्रतिष्ठाका दिन होली–दिवाली मनाइने जनाइएको छ ।