
कहिल्यै खाली नहुने संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त हुन लागेका एक तिहाइ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
पहिलोपल्ट ५९ जना निर्वाचित हुँदा २० जनाको दुई वर्ष, अर्को २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्षको पदावधि थियो ।
एकपटकका लागि २, ४ र ६ वर्षको पदावधि गोलाबाट तानिएको थियो । त्यसपछि भने निर्वाचित हुने हरेक सदस्यको कार्यकाल अनिवार्य ६ वर्ष हुँदै आएको छ । २०७४ फागुन २० गते ६ वर्षका लागि गोला तानेका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ ।
निर्वाचनका लागि सोमबार सातवटै प्रदेशमा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनमा आबद्ध दलले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । यीबाहेक एमाले र राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।
१२ वटा दलको तर्फबाट उम्मेदवारी परेको छ, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी छन् ।
कुन प्रदेशबाट कसको पदावधि सकिँदैछ ?
सातवटै प्रदेशबाट सांसद भएका १९ जना र मनोनीत एक सदस्यको पदावधि सकिन लागेको हो ।
यसरी पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २ र जसपा तथा स्वतन्त्र १/१ छन् ।
पदावधि सकिन लागेका एमाले सांसदमा गण्डकीबाट गणेशप्रसाद तिमल्सिना र दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा 'पार्वती' र रामचन्द्र राई छन् ।
त्यस्तै, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, लुम्बिनीबाट कुमार दसौंधी र सुदूरपश्चिमबाट इन्दु कडरिया छन् । मनोनीत विमला राई पौड्यालको पनि कार्यकाल सकिन लागेको छ ।
कांग्रेसबाट कोशीमा रमेशजंग रायमाझी, मधेशमा जीतेन्द्रनारायण देव, गण्डकीमा प्रकाश पन्थ र लुम्बिनीमा अनिता देवकोटाको कार्यकाल सकिँदैछ ।
कोशीमा विना पोखरेल, सुदूरपश्चिममा हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिँदैछ ।
नेकपा एसबाट बाग्मतीमा सिंगबहादुर विश्वकर्मा र कर्णालीमा नन्दा चपाईको माओवादीबाट सदस्य पदको पदावधि सकिँदैछ ।
जसपाकी प्रमिला कुमारी र स्वतन्त्रतर्फ बागमतीबाट जितेका खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ ।
कुन प्रदेशमा कति सिट खाली ?
राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २–२ गरी ६ समेत १९ सीटका लागि निर्वाचन हुँदैछ । एक महिला सदस्य मनोनीत हुनेछन् ।
महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फबाट निर्वाचित गर्नुपर्ने प्रावधान छ ।
यही क्लस्टरगत रूपमा दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । अब सातवटै प्रदेशमा तोकिएका मतदान केन्द्रमा मतदान हुनेछ ।
को–को हुन्छन् मतदाता ? कसरी हुन्छ मतदान ?
राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशका प्रदेश सभा सदस्य, निर्वाचित हुने सम्बन्धित प्रदेशभित्रका स्थानीय तहका नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्छन् ।
यिनै मतदाताले सम्बन्धित प्रदेशमा भोट हालेर त्यहाँबाट रिक्त पदमा सदस्य निर्वाचित गर्नेछन् । मतदाताको मतभार भने फरक–फरक हुनेछ ।
प्रदेश सभाका प्रति सांसदको मतभार ५३ हुनेछ । तर स्थानीय तहका नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको प्रतिव्यक्ति मतभार १९ हुनेछ । यसअघि ४८ र १८ मतभार थियो ।
चुनाव प्रदेशगत रूपमा अलगअलग हुन्छ । यस्तो हुँदा प्रदेशभित्र रहेका प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीको संख्याअनुसार प्रदेशहरूको कूल मतभार फरक–फरक छ ।
मतभार नेपालको जनसंख्या र कूल प्रदेश सभा सदस्य तथा कूल स्थानीय तहको अनुपातबाट निकालिएको हो । २०७८ सालमा नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
सात प्रदेशका कूल ५५० प्रदेश सांसदले भाग गर्दा ५३ हजार ०२७ हुन्छ । यसलाई पनि फेरि एक हजारले भाग गर्दा ५३ मतभार हुन्छ ।
यसैगरी नेपालको जनसंख्यालाई ७५३ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको कूल संख्या १५०६ ले भाग गरिन्छ ।
यसरी भाग गर्दा १९,३६६ हुन आउँछ । यसलाई फेरि हजारले भाग गर्दा आउने १९ संख्या नै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार हो । यही मतभारका आधारमा निर्वाचन हुन लागेको हो ।
कुन प्रदेशमा कति छन् मतदाता र कति छ मतभार ?
कोशीमा ३६७ मतदाता हुँदा कूल मतभार १०,१३५ रहेको छ । मधेश प्रदेशमा ३७४ मतदाता हुँदा मतभार १०,७४४ छ ।
बागमतीमा सबैभन्दा बढी ३४७ मतदाता छन् । यहाँको मतभार १०,३३३ छ, जुन सात प्रदेशमध्ये सबैभन्दा बढी हो ।
गण्डकीमा २३० मतदातामा कूल मतभार ६,४१० रहेको छ । लुम्बिनीमा मतदाता ३०५ छन् भने कूल मतभार ८,७५३ रहेको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा कम १९६ मतदाता छन् । कूल मतभार पनि सबैभन्दा कम ५,०८४ छ ।
सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता हुँदा ६,१०० मतभार रहेको आयोगले जनाएको छ ।
कहाँ–कहाँ हुन्छ मतदान ?
सातवटा प्रदेशमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । तोकिएका मतदान स्थलमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम तोकिएको छ ।
बागमती प्रदेशका लागि भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय ब्लक प्राविधिक भवन, हेटौंडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा तोकिएको छ ।
लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन दाङको घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन कैलालीलाई मतदान स्थल तोकिएको छ ।