
पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएको दिन एउटै मुद्दामा थुनामा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे सबैले सुन्नेगरी आवाजै निकालेर रोएको पाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पाण्डे खाँण छुटेको दिन सबैले सुन्नेगरी ‘ड्वाँड्वाँ’ रोएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग बताए ।
‘उहाँ (पाण्डे) बालकृष्ण खाँण छुटेको दिन बेस्सरी चिच्याएर रुनुभएको थियो,’ केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग भने, ‘धुरूधुरू होइन, आवाजै निकालेर रुनुभयो ।’
पूर्व गृहमन्त्री खाँणलाई उच्च अदालत पाटनले मंसिर २८ गते ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो खबर पाण्डेले जेलका नाइकेमार्फत थाहा पाएका थिए ।
‘उहाँलाई खबर सुनाइदिऊँ भनेर सुनाएको त रुन थाल्नुभयो, हामी त के गर्ने, के नगर्ने अन्योलमा पर्यौं,’ जेलका नाइकेको कुरा उद्धृत गर्दै अर्का एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने ।
उच्च अदालतको आदेशपछि खाँण सम्पत्ति शुद्धीकरणमा समेत १५ लाख धरौटी बुझाएर छुटेका थिए ।
एकै मुद्दामा थुनामा रहेका खाँण छुटेपछि पाण्डे थप निराश देखिएका छन् । उनको दैनिकी पूजापाठमा बितिरहेको छ । उनलाई भेट्न परिवारका सदस्यबाहेक कोही आउँदैनन् ।
‘पाण्डे सरलाई भेट्न आफन्तहरू, नितान्त घरमा मान्छेभन्दा अरू आउनुभएको छैन,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने ।

टोपबहादुर छोरा छुट्दा खुसी, खाँण छुट्दा निराश
केन्द्रीय कारागारमै रहेका नेकपा एमालेका नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझीले पनि पूर्व गृहमन्त्री खाँण छुटेको कुरा कारागारका नाइकेमार्फत सुनेका रहेछन् ।
शुरूमा खाँण छुटेको थाहा पाउँदा केही निराश भएका रायमाझी तत्काल सम्हालिएका रहेछन् ।
‘रायमाझीजी केहीबेर निराश देखिनुभएको थियो, तर केही समयपछि सामान्य अवस्थामा आउनुभयो,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने ।
छोरा सन्दीप रायमाझीको रिहाइको दिन खुशी देखिएका रायमाझीको दैनिकी अन्य समयमा भने सामान्य हिसाबले बितिरहेको छ ।
कारागार स्रोतका अनुसार रायमाझीले सामान्य मेसमै खाना खान्छन् ।
कारागारमा कैदीबन्दी मिलेर मन लागेको खाना बनाएर खान पाउने व्यवस्था पनि छ । तर, रायमाझीले मेसमा नै अन्य कैदीबन्दीसहित सामान्य खाना खाने गरेका छन् ।
‘उहाँ लाइनमा बसी थाल थापेरै खाना खाइरहनुभएको छ,’ कारागार स्रोतले लोकान्तरसँग भन्यो । रायमाझीलाई भेट्न परिवारका सदस्य र केही जनप्रतिनिधि पनि आएका छन् ।
‘उहाँलाई भेट्न केही संघीय सांसद र प्रदेश संसादहरू आउनुभएको छ । त्यसका अलावा पार्टीका तल्लो तहका नेताहरू पनि आउनुहुन्छ,’ सूचना अधिकारी लुइँटेलले भने ।

प्रायः जिल्ला र प्रदेश स्तरका नेता आउने गरेको उनले खुलाए । रायमाझीलाई भेट्न आउनेहरूका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ ।
केन्द्रीय कारागारमा हैकम चलाउन खोजेपछि सानु भण्डारी र केशव दुलाललाई भने नख्खु कारागार स्थानान्तरण गरिएको थियो । उनीहरूले आफूहरू पनि भीआईपी नै भएकाले भेट्ने कक्ष छुट्टै चाहियो भन्दै कारागार व्यवस्थापनसँग माग राखेका थिए ।
सानु भण्डारीले त आम कैदीबन्दीले भेट्ने ठाउँमा आफन्त नभेट्ने भन्दै आएकालाई पनि फर्काएका थिए । त्यसपछि उनीहरूलाई सरुवा गरिएको थियो । नख्खु कारागारमा पनि उनीहरूले आफूहरूलाई छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।
जिल्ला अदालत काठमाडौंले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण र टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।
उच्च अदालत पाटनको आदेशले टोपबहादुरका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल छुटेका छन् । टोपबहादुर, टेकनारायण लगायत भने अझै पनि कारागारमै छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको आरोप अभियुक्तहरूमाथि छ । यो मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
पढ्नुहोस्, यो पनि :
खाँणलाई भेट्न दिन बिराएर पुग्छिन् मञ्जु, आफन्त आउँदा धुरुधुरु रुन्छन् सचिव पाण्डे