२४ जेठ २०८३, आइतबार
सुध्रियो गोरेको चालचलन

'सेन्ट्रल जेल'को गोलघरबाट निस्किए गोरे, भित्रै छन् तीनकुने हत्याकाण्डका अभियुक्त

माघ १, २०८०
काठमाडौं
'सेन्ट्रल जेल'को गोलघरबाट निस्किए गोरे, भित्रै छन् तीनकुने हत्याकाण्डका अभियुक्त

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य दोषी ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरबाट बाहिर निकालिएको छ ।

कारागारभित्रको कारागारका रूपमा चिनिने गोलघरबाट ‘गोरे’लाई केही समयअघि नै बाहिर निकालिएको खुलेको हो ।

चालचलन सुध्रिएपछि गोरेलाई गोलघरबाट बाहिर निकालिएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरलाई जानकारी दिए ।

‘उसको चालचलन ठीक देखिएकाले गोलघरबाट बाहिर निकालिएको छ । बाहिर निस्केपछि पनि व्यवहार ठीकै देखिएको छ,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने । 

गोलघरमा लामो समय बस्दा मानसिक र स्वास्थ्य समस्या आउन सक्ने खतरा हुन्छ ।

‘स्वास्थ्य अवस्थालाई पनि ख्याल गरेर बाहिर निकालिएको हो, बाहिर आएपछि पनि उसको व्यवहार सामान्य नै छ,’ सूचना अधिकारी लुइँटेलले भने । 

गोलघरमा हुने कैदीले बस्ने, सुत्ने र खाने लगायतका सबै दैनिकी एकैठाउँमा बिताउनु पर्छ । गोलघरमा आफैं खाना पकाउने र खाने अनि त्यहीँ सुत्ने व्यवस्था हुन्छ ।

जबकि बाहिर रहेका कैदीबन्दीले अन्यसँग भेट्ने, खेल्ने, मेसमा खाने लगायतका सुविधा पाउँछन् । लामो समय थुनिएर बस्दा मानसिक र स्वास्थ्य समस्या निम्तिने खतरा पनि हुन्छ ।

‘उसको शारीरिक र मानसिक स्वस्थ्यमा पनि समस्या देखिन थालेपछि बाहिर ल्याइएको हो,’ कारागार स्रोतले लोकान्तरसँग भन्यो । 

२०७८ असोज १९ गते जिल्ला अदालत मोरङले सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । 

गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकिएको हो । 

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । आपराधिक संगठन स्थापना गरेर सुन तस्करी तथा व्यक्ति बेपत्ता र हत्या गरेको आरोपसहित कुल १७ अर्ब १ करोड ८० लाख ७१ हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।

गोरेलगायत अभियुक्तहरू २०७५ जेठ १३ गते जेल चलान भएका थिए । 

जेलभित्रका अन्य कैदीबन्दीलाई समेत खतरा हुने खालका खुंखार अपराधीलाई गोलघरमा राख्ने गरिन्छ ।

केही महिनाअगाडि जेलबाट छुटेका बिकिनी किलर चार्ल्स शोभराजलाई पनि कारागार बसाइको अवधिभर गोलघरमै राखिएको थियो । 

तीनकुने हत्याका दोषी गोलघरमा

अहिले एक अर्का खुंखार अभियुक्तलाई गोलघरमा राखिएको छ । 

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका २३ वर्षीय सञ्जय भण्डारीलाई गोलघरमा राखिएको हो ।

पक्राउ परेपछि प्रहरीलाई समेत हैरान बनाएका सञ्जय गोलघरमा भने शान्त देखिएका छन् । केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार उनी त्यहाँ उग्र रूपमा प्रस्तुत भएका छैनन् । ‘उनी शान्त भएर बसेका छन् । यहाँ आएपछि उनको त्यस्तो खालको कुनै गतिविधि देखिएको छैन,’ लुइँटेलले लोकान्तरसँग भने ।

असोज ३ गते तीनकुनेमा दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नविन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या गरेको अभियोग उनीमाथि छ ।

पढ्नुहोस्, यो पनि :

खाँण छुट्दा डाँको छाडेर रोए सचिव पाण्डे, क्षणभरमै सम्हालिए टोपबहादुर

salt training

कमेन्ट गर्नुहोस्