
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सशस्त्र प्रहरी बल खटाइएको छ । माघ १ गतेदेखि सशस्त्र प्रहरीले विमानस्थलको भन्सार कार्यालयलाई सहयोग गर्दै आएको छ ।
देशभरका सीमा नाकामा भन्सारलाई सहयोग गर्दै आएको सशस्त्रलाई विमानस्थलमा पनि चेकजाँचमा खटाउने निर्णय गृह मन्त्रालयले पुस २६ गते गरेको थियो ।
‘गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सशस्त्र प्रहरीलाई खटाउने भनेपछि उहाँहरू खटिनुभएको हो,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले लोकान्तरसँग भने ।
पुस १६ गते अर्थ मन्त्रालयले स्वीकृति दिएपछि गृह मन्त्रालयले निर्णय गरेको थियो ।
विमानस्थलमा साउन २ गते ६०.७१६ केजी सुन स्कूटर र मोटरसाइकलको ब्रेक शूमा राखेर तस्करी भएको थियो । त्यसभन्दा अगाडि विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी सुन तस्करी र पछिल्लो समय १४ केजी सुन तस्करी भएपछि विमानस्थलको भन्सार चेकजाँचमा सुरक्षा निकायको उपस्थिति हुनुपर्ने आवाज उठेको थियो । चर्को दबाबपछि सरकारले देशका अन्य ठाउँमा भन्सारलाई सहयोग गर्दै आएको सशस्त्र प्रहरीलाई विमानस्थलमा पनि राख्ने निर्णय गरेको हो ।
प्रमुख भन्सारक पाण्डेका अनुसार अहिले विमानस्थलमा सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली खटिएको छ । त्यो टोलीले आगमन कक्षमा रहेका ४ वटा एक्सरे मशिनसहितमा बसेर चेकजाँचको काम गरिरहेका छन् । भन्सारले पछिल्लो समय आगमन कक्षमा नयाँ एक्सरे मशिन जडान गरेको छ ।
एक्सरे मशिनसँगै सशस्त्रले प्रत्येक शिफ्टमा ५ जनालाई चेकजाँचमा खटाइएको छ । उनीहरूलाई ३ शिफ्टमा सुरक्षामा खटाइएको प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए ।
‘अहिले प्रत्येक शिफ्टमा ५ जनाले चेकजाँच गरिरहनुभएको छ,’ पाण्डेले भने ।
पाँचजनामा १ जना कमान्डर तथा महिलासहित अन्य प्रहरी कर्मचारी हुन्छन् । यसअघि चेकजाँचको काम गर्दै आएका सेक्युरिटी गार्डहरूलाई भने हटाइएको छ ।
जुत्ता फुकालेर जाँच गर्दै सशस्त्र प्रहरी
विमानस्थलमा चेकजाँचमा खटिएका सशस्त्र प्रहरीले शंका लागेको खण्डमा जुत्ता समेत खोलेर चेकजाँच गर्न थालेका छन् । विमानस्थलमा ओर्लिएर भन्सार हुँदै एक्सरे मशिनबाट बाहिरिनुपर्छ ।
मशिनमा हरियो बत्ती नबलेसम्म बाहिर निस्किन दिइँदैन । आवश्यक परेको खण्डमा शरीरमा भएका सबै सामानहरू र ब्यागेजमा भएका सामान पनि चेकजाँच भइरहेको छ ।
‘शंका लागेको खण्डमा हामीले तलदेखि माथिसम्मका सबै कपडाहरू खोल्न लगाएका छौं । अधिकांशको जुत्ता समेत खोल्न लगाएका छौं । त्यो शंका लागेका व्यक्तिहरूलाई हो, सबैलाई भने होइन,’ सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले लोकान्तरसँग भने ।
विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डेका अनुसार अहिले आउने यात्रुहरूको चेकजाँचका लागि ४ वटा मशिन चालू अवस्थामा छन् ।
‘अहिले हामीले विभिन्न तहमा ४ वटा एक्सरे मशिन जडान गरेर जाँच गर्दै आएका छौं,’ पाण्डेले लोकान्तरसँग भने, ‘ती मशिन जडान गरेपछि एकजना व्यक्ति सुरक्षा जाँचपास हुन अधिकतम १० मिनेट लाग्छ । शंकास्पद नभएमा कम समयमा पनि बाहिर आउन सकिन्छ ।’
एक नम्बर एक्सरेमा कर्मचारीहरू, विमानका क्याबिन क्रु, बिरामी र भीआईपीहरूको चेकजाँच हुन्छ । दुई र तीन नम्बर एक्सरे मशिनबाट नियमित चेकजाँच हुन्छ, जसमा विमानस्थल ओर्लिएर बाहिर आउने प्रत्येक व्यक्तिको चेकजाँच हुने गरेको छ । चार नम्बरको एक्सरे मशिनबाट भीडभाडको समयमा चेकजाँच गरिने प्रमुख भन्सारक पाण्डेले लोकान्तरलाई बताए ।
नियमित जाँच हुने कुनै पनि एक्सरे मशिनबाट पास भएर बाहिर आउन सकिन्छ । तर, भारतबाट आउने यात्रुले भने तोकिएको एक्सरे मशिनबाटै जाँचपास भएर जानुपर्छ ।
‘भारतबाट आउने यात्रुलाई भने केही समय लाग्न सक्छ, किनकि उहाँहरूलाई एउटै एक्सरे मशिनबाट चेकजाँच गर्ने व्यवस्था छ,’ पाण्डेले लोकान्तरसँग भने ।
सुरक्षा जाँचमा ‘चेक एन्ड ब्यालेन्स’
विमानस्थलमा सशस्त्र खटाएपछि सुरक्षा जाँचमा ‘चेक एन्ड ब्यालेन्स’ भएको छ । विमानस्थलमा अहिले ६८ वटा एजेन्सीहरूले काम गरिरहेका छन् । त्यसमध्य मुख्यरूपमा सुरक्षा जाँच प्रहरीले गरिरहेको छ ।
प्रहरीका विमानस्थल सुरक्षा कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा, लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), मानवबेचबिखन ब्यूरो र इन्टरपोल नेपाल शाखा विमानस्थलमा सक्रिय छन् ।
थप सुरक्षाका लागि सशस्त्र प्रहरी आएपछि एक प्रकारको डर पैदा भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । ‘सशस्त्र आएपछि एउटा छुट्टै प्रकारको डर पैदा भएको छ । अरूले नियमित काम गर्दा एकअर्कालाई चिनजान हुन्थ्यो, त्यसले गर्दा सेटिङमा सहज थियो, अहिले त्यो हुन सकेको देखिँदैन, त्यसकारण त्यस्ता कर्मचारी डराएका छन्,’ विमानस्थलमा खटिएका एक अधिकृतले लोकान्तरसँग भने ।
ती अधिकृतका अनुसार सशस्त्र प्रहरीले २ दिनअगाडि भन्सार विभागको सोफा लैजान समेत दिएको थिएन । ‘भन्सार विभागले सशस्त्र आएपछि सोफालगायतका सामानहरू विमानस्थलभित्र लैजान खोज्दा दिएको थिएन, पछि हामीले (टीआईए)सँग समन्वय गरेर लगेका थियौं,’ ती अधिकृतले लोकान्तरसँग भने ।