
अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘बोक्सीको घर’ आगामी वर्षको वैशाखमा प्रदर्शनमा आउने भएको छ ।
वैशाख १४ गतेका लागि प्रदर्शन मिति तय गरिएको केकीले जानकारी दिइन् ।
८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण भएको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन् ।
फिल्मको शीर्ष भूमिकामा केकीले नै अभिनय गरेकी छन् । साथमा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको हो । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।
नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।
उनी स्वयंम निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
टि फोल्क्स फिल्मस प्रा.लिले यो फिल्मलाई वितरण गर्नेछ ।