
शिक्षित जिल्लाका रुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या धेरै रहेको पाइएको छ ।
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा आएर पछिल्लो ६ महिनामा ६ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका छन् ।
उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट २ सय १२ जनाले बच्चा जन्माएका कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । उनका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट चार सय २३ र घरमा नौ जनाले बच्चा जन्माएका हुन् ।
ढकालका अनुसार चालू आर्थिक वर्षमा ७ हजार १ सय १९ आमाले बच्चा जन्माएको भए पनि ६ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका हुन् ।
स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार ८ पटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरूमा ५ सय २९ रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
पहिलो हप्तामा एक हजार एक सय ७६, १२ हप्तामा आठ सय ११ र २६ हप्तासम्म परीक्षण गर्ने नौ सय ३८ गर्भवती आमा स्वास्थ्य परीक्षणका लागि आएका जनाइएको छ ।
नेपालको कानूनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन ।
समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उनले बताइन् । उनले भनिन्, 'विशेषगरी जिल्लाको पहाडी क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।'
विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उनले बताइन् ।