
नेपाल प्रहरीले भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले बिहीवार काठमाडौंका रातोपुलको एक घरमा बन्धक बनाएर राखेका ११ जनालाई उद्धार गर्नेक्रममागिरोहलाई पक्राउ गरेको हो । बन्दक बनाउने भारतीय गिरोहका ९ जनालाई पक्राउ गरिएको बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रहरीले भारतीय नागरिक ५८ वर्षीय इन्दुसिंह यादव, लुधियाना पञ्जाबका ५१ वर्षीय निपुन गुप्ता, नयाँ दिल्लीका ४३ वर्षीय चरनजीत सिंह, पञ्जाबकै अशोक कुमारलाई सार्वजनिक गरेको हो ।
यस्तै ताराचन्द्र कोलोनी महिपालका ५४ वर्षीय अब्दुल रहिम, पञ्जाबका ४७ वर्षीय मनीषकुमार महोत्रा, ३४ वर्षीय रवि नवाडे र राजस्थानका ४३ वर्षीय रामचन्द्र शर्मालाई पनि बिहीवार नै सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पीडितहरूलाई अमेरिका लैजाने भन्दै भारतबाट नेपालमा ल्याएर बन्धक बनाएको बताए । ‘उहाँहरूलाई अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर बन्दक बनाएको देखियो,’ उनले भने, ‘उहाँहरूलाई ८-९ दिनदेखि बन्दक बनाएर राखेको देखिन्छ ।’

उनका अनुसार गिरोहमा संग्लग्न दलालहरूले ४ जनालाई भने २ दिनअगाडि मात्रै नेपाल ल्याएका थिए । उनीहरूलाई मेक्सिकोहुँदै अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर पैसा बार्गेनिङ गरेको खुलेको प्रहरीको भनाइ छ । गिरोहका सदस्यहरूले बन्धक बनाएकालाई परिवारसँग बोल्न दिइ मेक्सिको आइपुगेको भन्न लगाएका थिए । यसपछि त्यहाँ भएका एजेन्टले परिवारसँग पैसा लिने गरेको प्रहरीले खुलासा गरेको छ । ‘बन्धक बनाएकालाई उनीहरूले प्रविधिको प्रयोग गरेर मेक्सिकोजस्तो सिन देखाएका थिए । यसपछि परिवारलाई विश्वासमा पारेर पैसा लिने गरेको देखिएको छ । त्यसका लागि उनीहरूले एयरलाइन्सको नक्कली पास बनाएर परिवारलाई पठाउने गरेको पनि देखिएको छ,’ पत्रकार सम्मेलनमा एसएसपी खत्रीले भने ।
प्रहरीका अनुसार पीडितहरूलाई प्रतिव्यक्ति ४५ लाख भारतीय रुपैयाँ लाग्ने र साथमा ३ हजार डलर पनि बोक्नु पर्ने भन्दै ठग्ने गरेको पाइएको छ । ४ दिनअघि पञ्जाबबाट नेपाल ल्याइएका ३४ वर्षीय भूपेन्द्र सिंहले दलालहरूले आफ्ना आफन्तबाट ४५ लाख रुपैयाँ लिएको बताए । ‘हामीहरूले भिडियो कलमा आएको बतायौं । त्यसपछि त्यहाँ परिवार नगद ४५ लाख भारू दिनुभएको छ,’ सिंहले लोकान्तरसँग हिन्दीमा भने, ‘त्यति नगरेको भए यहाँ हामीलाई मार्ने धम्की दिएका थिए ।’
यसबारे परिवारसँग सत्य बोले वा कुनै इसारा गरे दलालहरूले कुटपिट गर्ने गरेको पनि उनले बताए । उनले नेपाल प्रहरीले उद्धार गर्दा पनि आफूलाई शुरूमा विश्वास नलागेको बताए । ‘उनीहरूले सबै चिज नक्कली बनाएका थिए । हामीलाई पहिला प्रहरीले उद्धार गर्न आएको हौं भन्दा विश्वास लागेन । यिनीहरूले नै ल्याएका हुन् जस्तो लागेको थियो । तर पछि प्रहरीले सम्झाएपछि र पोशाक देखेपछि विश्वास लागेको हो,’ सिंहले लोकान्तरसँगको कुराकानीमा भने ।
प्रहरीका अनुसार पहिले उनीहरूले पहिले सोध्दा आफूहरू गार्मेन्ट र सिरकको काम गर्न आएको बताएका थिए । उनीहरूलाई विश्वास दिलाएपछि मात्रै कुरा खोलेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा अपरेसन चलाएको थियो ।
हिन्दी फिल्म ‘डंकी’मा मानव बेचबिखनको विषय भएकाले नेपाल प्रहरीले त्यसैका आधारमा अपरेसनको नाम ‘अपरेसन डंकी’ राखेको एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘यो पनि मानव तस्करीसँग जोडिएको विषय भएकाले त्यसलाई त्यही फिल्मका आधारमा नाम राखेका हौं,’ एसएसपी खत्रीले भने ।
उनका अनुसार बन्धक बनाउनलाई तस्करी गिरोहले ३ महिनादेखि घर भाडामा लिएका थिए । ‘उनीहरूले मासिक ७५ हजार रुपैयाँ तिरेर घर भाडामा ल्याएको देखिन्छ,’ एसएसपी खत्रीले भने ।
घरधनीले पनि कस्ता व्यक्तिहरू बस्न लागेका हुन् भन्ने विषय सोधीखोजी नगरी सम्झौता गरेर भाडामा दिएको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उद्धार गरेका ११ जनालाई एक होटलमा राखिएको छ ।