जनकपुरधाम, २२ असोज– मध्य तराईका सर्लाही, महोत्तरी र धनुषामा डेंगूको प्रकोप देखा परेको छ । सर्लाहीको लालबन्दीमा देखा परेको डेंगूको प्रकोप अब महोत्तरीको बर्दिबास हुँदै धनुषाको मिथिला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा समेत देखा परेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत सच्चिदानन्द देवले दिएको जानकारी अनुसार धनुषामा पनि तीन जना बिरामीहरुमा डेंगूको रोगको लक्षण देखा परेको छ । महोत्तरीको बर्दिवास नगरपालिकासँगै जोडिएको धनुषाका मिथिला र क्षीरेश्वरनाथ नगरपालिकामा तीन जना बिरामीहरूमा डेंगू रोगको लक्षण देखा परेको हो ।
ती तिनै जना बिरामीहरु धनुषाका भए पनि महोत्तरीको बर्दिबासमा ब्यापार ब्यबसाय गर्ने गरेका छन् । त्यहीँबाट उनीहरुमा डेंगूको संक्रमण देखा परेको देबले लोकान्तरलाइ बताए । यसरी डेंगूको प्रकोप बिस्तारै बिभिन्न जिल्लाहरुमा सर्ने गरेको भए पनि डेंगू रोगको परीक्षण गर्ने कीट भने जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीहरुमा नरहेको देवले जानकारी दिएका छन् ।
‘पहिले देखिको नै तीन चार वटा कीट थियो तर अब त्यो पनि छैन, रोगी आए पनि परीक्षण गर्न असमर्थ छौं, बिभाग संग हामीले किट मांग गरेका छौं’ जनस्वास्थ्य प्रमुख देवले लोकान्तरसंग भने । भोली देखि मिथिला नगरपालिका र क्षीरेश्वर नगरपालिकामा त्यहाँका मेयरहरूसँगको सहकार्यमा रेस्क्यू एंड डेस्ट्रोएको काम थालिने देवले लोकान्तरलाई बताएका छन् ।
महोत्तरीमा डेंगुका विरामीको संख्या ४२ पुग्योमहोत्तरीमा डेंगुका विरामीको संख्या ४२ पुगेको छ । ३ दिन पहिले विरामीको संख्या ३९ थियो, थप गरिएको रगत परीक्षणमा थप तिनजना रोगी फेला परेको जिल्ला जनस्वास्थ्य प्रमुख डा.नागेन्द्र यादवले बताए । बर्दिवास अस्पताल र शुभ स्वस्तिक अस्पतालमा डेंगुको लक्षण देखिएका विरामीहरुको जांच भैरहेको उनले बताए ।
यता डेंगु भएको लामखुटटेको लार्भा र प्युपा हुन सक्ने सम्भावित स्थानहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सर्च एण्ड डेस्ट्रोएको अभियान संचालन गरि लाखौं लामखुट्टेको लार्भा र प्युपा नष्ट गरेको छ ।
यद्यपी डेंगु भएको लामखुट्टेले अन्य मानिसहरुलाई समेत टोकेको प्रवल सम्भावना रहेकोले यो जिल्लाका अन्य भागमा समेत फैलन सक्ने सम्भावना रहेको यादवले बताए । एउटा लामखुटटेले १५० जति अण्डा दिन सक्ने र एउटा अन्डा ७ महिनासम्म जस्तो सुकै मौसममा पनि वांच्न सक्ने तथा डेंगुको भाईरस भएको लामखुट्टेले दिएको अण्डामा समेत डेंगुको भाइरस आउने भएकोले सवै सचेत हुनु जरुरी रहेको डा. यादवले बताए ।
सर्लाहीको लालवन्दीबाट आएको डेंगुले तिव्ररुपमा बर्दिवासलाई चपेटमा लिएको र बर्दिवासकै २८ जनालाई डेंगु लागेको डा. यादवले बताए । डेंगुको आफ्नै कुनै औषधी नभएकोले लक्ष्णको आधारमा औषधी दिईने र सो लक्ष्णको उपचार गरिएको उनले बताए ।
डेंगुको लक्षणडेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिएको डा.यादवले बताए । उनले डेंगु लागेको थोरैपनि शंका लागेमा नजिकको स्वास्थ्य चौकीमा पुगेर जांच गराउन सवैमा आग्रह गरे ।
कस्तो स्थानमा हुर्कन्छ डेंगुका लामखुट्टे -डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको डा.यादवको भनाई छ । धेरै दिन देखि जम्मा गरेर राखेको टायरहरुमा जमेको पानीबाट सर्च एण्ड डिस्ट्रोय टिमले लाखौको संख्यामा लार्भा र प्युपा नष्ट गरेकोले त्यसता टायर जम्मा भएको स्थानहरु विभिन्न ग्यारेजहरुमा रहेको टायरहरु तत्काल हटाउन आग्रह गरे ।
त्यसतै गमलाहरुमा समेत ३ दिन भन्दा वढी पानी जमेको पानीमा समेत डेंगुको लार्भाहरु हुन सक्ने बताए । उनले डेंगु भाइरस भएको लामखुटटेले सुर्य उदाएको वेला मात्र टोक्ने हुनाले घरबाट निस्कने वेला हात खुट्टा छोपिने गरि कपडा र जुत्ता लगाएर मात्र निस्कन आग्रह गरे । सफा र सहरी क्षेत्रमा हालसम्म वढी डेंगुको लामखुट्टे देखिएकोले ग्रामिण क्षेत्र भने थोरै सुरक्षित रहेको उनको भनाई छ ।
स्वास्थ्य मन्त्री देखि प्रमुख जिल्ला अधिकारी सवैको टाउको दुखाई -
स्वास्थ्य मन्त्री गिरीराज मणि पोखरेलको निर्वाचन क्षेत्र बर्दिवासमा डेंगुको प्रकोप देखिएपछि उनको टाउको दुखाई बढेकाे छ । मन्त्री पोखरेलले तत्काल डेंगुको रोकथामको लागि जिल्ला स्वास्थ्य कार्यालयलाई दिर्नेशन दिईसकेकोले सोहि निर्देशन अनुरुप डेंगु रोकथामको लागि अभियान नै चलाईएको छ । यता प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले समेत डेंगु रोकथामको लागि सवै सुरक्षाकर्मीहरुलाई सहयोगी भुमिका निभाउन निर्देशन दिएका छन् ।