
नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
वीर शहीदहरूको सम्मानार्थ शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याइएको कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार उक्त अफर यही फागुन ६ गते आइतवारदेखि १२ गते शनिवारसम्म लागू हुनेछ ।
जसअनुसार साबिक बमोजमको Free Resource अर्थात् १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो Resource चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One Time प्याकेज र Combo Yearly One Time प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।
यस्तै, टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई पनि विभिन्न प्याकेज उपलब्ध गराएको छ ।
यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज प्रयोग गर्न सकिने छ ।
यस्तै, ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।