१० साउन २०८३, आइतबार

एमाले कैलालीमा निर्वाचन हुने निश्चित, लेखराज-कर्ण प्रतिस्पर्धामा तेस्रो पक्षको ‘इन्ट्री’ !

फागुन ७, २०८०
कैलाली
एमाले कैलालीमा निर्वाचन हुने निश्चित, लेखराज-कर्ण प्रतिस्पर्धामा तेस्रो पक्षको ‘इन्ट्री’ !

कैलालीको सुख्खडमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा निर्वाचन हुने भएको छ । सहमतिका लागि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि निर्वाचन हुने लगभग निश्चित भएको हो ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेसँगै शुरू भएको अधिवेशनमा सहमतिका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष निस्किन नसकेको एक नेताले बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सक्षम र मजबुत नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए । ‘सहमतिका लागि अधिकतम प्रयास गर्नुस्, भएन भने निर्वाचनबाट नेतृत्व चयन गर्नुस्,’ ओलीले भनेका थिए ।

ओलीको निर्देशनपछि भएको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।

स्रोतका अनुसार सचिव पदका लागि इच्छापत्र पेश गरेका कैलाली जिल्लाका उपसचिव ममताप्रसाद चौधरीले पनि छलफलका क्रममा अध्यक्ष पदमा दाबी गरेका छन् ।

लोकान्तरसँग प्रतिक्रिया दिँदै चौधरीले अध्यक्ष पदमा दाबी रहेको बताए ।

‘दाबी निश्चित रूपमा रहन्छ, अहिले नै निर्वाचन प्रक्रिया शुरू भएको छैन । नेतृत्व गर्न म सक्षम छु,’ चौधरीले भने । 

‘नेतृत्व चयनका लागि केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य दामोदर भण्डारी लगायतका नेता र उम्मेदवारका बीचमा भएको छलफलले निष्कर्ष निकाल्न सकेन । अब निर्वाचन हुने लगभग निश्चित छ,’ एक प्रतिनिधिले भने । 

सहमतिका लागि भएको छलफलमा केन्द्रीय नेताहरूले ‘लाइन क्लियर’ गरेका छन् । 

कैलालीको नेतृत्वको लागि ३ जना आकांक्षी छन् । केन्द्रीय सचिव भट्टले कैलाली जिल्ला कार्यबाहक अध्यक्ष दुर्गा जोशीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् ।

जोशी र भट्टको पहाड घर डोटी नै हो । निर्वाचनमा निर्णायक बन्दै आएको डोटी फ्याक्टरले जोशीका पक्षमा भोट दिने प्रस्ट छ । भट्टका स्वकीय सचिव हितेश ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।  

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । थापाको बाजुरा र पाण्डेको पुर्ख्यौली घर अछामका हो । 

बाजुरा–अछाम समुदाय सँगै कैलालीको पूर्वी क्षेत्रको भोट पाण्डेलाई आउने आकलन गरिएको छ । कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरीलाई पाण्डे समूहबाट सचिव पदका दाबेदार मानिएको थियो ।

चौधरीले पनि दाबी गरेपछि समीकरण तलमाथि पर्ने देखिन्छ ।

एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षमा पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगानालाई सघाइरहेका छन् । यहाँ बैतडी र अछाम फ्याक्टरले काम गर्ने अनुमान गरिएको छ ।

हाल बैतडी घर रहेका भण्डारीले अध्यक्षमा सघाइरहेका ढुंगानाको पुर्ख्यौली घर अछाम हो । उनको टीमबाट सचिव पदमा बैतडी समुदायकै विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् । केन्द्रीय सचिव भट्ट र केन्द्रीय कमिटी सदस्य भण्डारी एमाले महासचिव शंकर पोखरेलसँग निकट छन् भने स्थायी कमिटी सदस्य कर्ण थापा उपाध्यक्ष विष्णु पौडेलसँग निकट मानिन्छन् ।

केन्द्रीय नेताहरूले तीनथरि लबिङ गर्न थालेपछि पार्टी अध्यक्ष ओलीले ममतालाई अध्यक्षका लागि ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । चौधरीको इन्ट्रीले समीकरण रोचक बनेको छ ।

सहमतिका लागि अन्तिमपटक सर्वपक्षीय बैठक बस्ने बताइएको छ । बैठकबाट सहमति जुट्न नसके निर्वाचन प्रक्रिया शुरू हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्