३० असार २०८३, मंगलबार

आइतबारदेखि ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

फागुन ११, २०८०
काठमाडौं
आइतबारदेखि ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । 

अभियानअन्तर्गत काठमाडौंका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती बालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका  खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौंका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्