
बुटवलका दिलिप सापकोटा यस क्षेत्रमा सफल उद्योगीका रुपमा चिनिन्छन् । रुपन्देहीको मोतिपुरस्थित पर्वत इँटा उद्योग सञ्चालन गरेका युवा उद्यमी देशमै केही गर्न चाहनेका लागि एक उदाहरणसमेत बनेका छन् । उनको उद्योगबाट उत्पादित इँटा यस क्षेत्रमा सबैभन्दा बढीको रोजाइमा पर्ने गर्छ । सो उद्योगबाट उत्पादित इँटाले लुम्बिनी क्षेत्रमा विसं २०५० देखि आफ्नो छाप छोड्दै आएको छ ।
पारिवारिक ‘लिगेसी’बाट उद्योगमा प्रवेश गरेका दिलिपको जन्म २०२९ सालमा पर्वतको फलेबासमा भएको हो । बुवा ताराप्रसादको प्रेरणाले आफू उद्योगप्रति आकर्षित भएको उनी बताउँछन् । यसमा आमा मायादेवीको मार्गदर्शन र श्रीमती सुजीताको साथ पनि मिसिएको उनी भुल्दैछन् । ‘यस क्षेत्रमा मैले बाबाको रवाफ देख्न पाएँ । त्यही प्रेरणाबाट म उद्योग क्षेत्रमा आकर्षित भएको हुँ,’ उनले भने, ‘आमाको मार्गदर्शन र श्रीमती सुजीताको साथ पनि उत्तिकै छ ।’ दुई सन्तान रहेका दिलीप पारिवारिक रुपमा सुखी छन् । उनका एक छोरा सम्राट र एक छोरी सुदीक्षा छन् ।
आफ्नै प्रगतिमा मात्रै रमाउने स्वभाव छैन दिलिपको । देशको अर्थव्यवस्थामा व्यक्तिगत र सामाजिक रुपमा टेवा दिनु आफ्नो उद्देश्य रहेको लुकाउँदैनन् उनी । लगानी र जोखिम बराबरजस्तै रहेको इँटा उद्योग क्षेत्रबाट आफू पूर्ण सन्तुष्ट रहेको उनी बताउँछन् । ‘ममा सानैदेखि व्यावसायिक चेत थियो । बाबाले थालेको उद्योगबाट बढ्दो शहरीकरणका लागि चाहिने इँटामै सुनौलो सपना देखेँ । यसैलाई पहिचान गरेर यहाँसम्म आए,’ उनी भन्छन् ।
बुवा ताराप्रसादसँगै २०३३ सालमा पर्वतबाट रुपन्देही झरेका दिलिपको बाल्यकाल बुटवलमै बित्यो । २०४६ सालमा बुटवलको कालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएससी)मा उत्तीर्ण गरेका दिलिप विज्ञान (साइन्स) विषय पढ्न काठमाडौं गएका थिए । तर त्यसलाई निरन्तरता दिन सकेनन् । प्रवीणता प्रमाणपत्र तह पढ्दापढ्दै छोडेर उनी बुटवल नै फर्किए । त्यसपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा व्यवस्थापन संकाय पढ्न थाले । उनले त्यो बेलाको आईकम र बीकम वाणिज्य संकायबाटै उत्तीर्ण गरे ।
दिलिपले एसएससी दिनुअगावै आजभन्दा करिब ४० वर्षअघि बाबुराम आचार्यसँग बुवा ताराप्रसादले साझेदारीमा आचार्य इँटा उद्योग चलाएका थिए । एसएलसी दिएपछि दिलिप पनि उक्त इँटा उद्योगमा जान थाले । त्यहीँबाट उनको यात्रा यसै क्षेत्रमा अघि बढ्दै गयो । पहाडबाट परिवारसहित तराई झरेको परिवारलाई दिलिपका हजुरबाले दुई वर्षपछि पुनः पहाडमा नै लगेर राखेका थिए । तर, तराईमा शिक्षण र उद्योगबाट भविष्य देखेका दिलिपका बुवा ताराप्रसादले केही समयमा आफ्ना बुवालाई सम्झाएर पुनः तराई झर्ने वातावरण बनाए । यसैले अहिलेको अवस्थामा पुर्याएको दिलिपको बुझाइ छ ।

नाताले आफन्त पर्ने बाबुराम र ताराप्रसादले उक्त उद्योग २०५० सालसम्म सँगै गरे । त्यसपछि बाबुरामले आचार्य इँटा चलाए भने ताराप्रसादले पर्वत इँटा उद्योग सञ्चालन गरे । सो नै पछि दिलिपले चम्काएका हुन् । अहिले उनी यसैको एकल लगानीकर्ता भएका छन् ।
त्यसो त दिलिपलाई काठमाडौंमा व्यापार–व्यवसाय गरेर सफल हुन्छु भन्ने नभएको होइन । २०६० सालमा उनी व्यापारका लागि काठमाडौं पुगे । तर, त्यहाँ उनलाई त्यति सहज भएन । दुई वर्षपछि फर्केर फेरि बुटवल आए । २०६४ सालमा नवलपरासीको परासीमा उनले पवन इँटा उद्योग चलाए । केही समयपछि बिक्री गरेँ । फेरि रुपन्देहीको तत्कालीन मोतिपुर–८ मा पर्वत इँटा उद्योगलाई नै निरन्तरता दिए । ‘यो उद्योग अहिलेसम्म निरन्तर चलिरहेको छ,’ उनले थपे ।
दिलिपले उद्योग क्षेत्रमा धेरै लगानी गरेका छन् । एकल लगानीबाहेक उनले साझेदारीमा पनि उद्योग–व्यवसाय गरेर स्थापित भएका छन् । यस्तै नेपाल ब्याक गोल्ड उद्योग, नवलपरासी सरावल–४ को उत्तम इँटा, रुपन्देहीको शुद्धोधनमा रहेको आरबी इँटा र कपिलवस्तुको नम्बर–१ इँटा उनले साझेदार गरेर चलाएका उद्योग हुन् । २०५६ सालमा रुपन्देही उद्योग संघको सदस्यता लिएका दिलिप २०५८ मा कार्य समिति सदस्यको रूपमा संघको नेतृत्वमा उक्लिए । सह–कोषाध्यक्ष, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भएका उनले हालैमात्र संघको नेतृत्व गरेका छन् ।
दिलिप इँटा उद्योगमार्फत आफूमात्र सफल भएका छैनन्, ४०० भन्दा बढीलाई रोजगारीसमेत दिएका छन् । दिलीप अहिले इँटा भट्टामा बाल मजदुर घट्दै गएको बताउँछन् । साथै उनले अहिले उद्योगमा भारतीय मजदुरको संख्या पनि घट्दै गएको उल्लेख गरे । ‘हाम्रो उद्योगमा अहिले ८० प्रतिशत नै नेपाली मजदुर छन्,’ उनले भने ।
देशलाई आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको दिलिप बताउँछन् । सबैले आ–आफ्नो कर्तव्य निर्वाह गरे देश बन्ने उनी ठोकुवा गर्छन् । ‘विश्वका सम्पन्न देश पनि कसैले बनाइदिएका होइनन् । हामी आफैँ क्षमतावान् नभएसम्म केही हुँदैन,’ उनी थप्छन् । मुलुकभर देखिएको आर्थिक संकट समाधानका लागि सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरू ल्याउनुपर्ने उनी सुझाव दिन्छन् । यसो गरे उद्योगहरू बन्द हुन अवस्थाबाट जोगिने उनको भनाइ छ । ‘सरकारले उद्योगबाट कर उठाउनेबाहेक अरूमा ध्यान दिएको छैन । उसको दृष्टिकोण नै उद्योगहरूप्रति सकारात्मक छैन । देशमा उद्योगमैत्री नीति छैन । त्यसैले पनि उद्योगीहरू उत्साहितभन्दा बढी हतोत्साही हुने गरेका छन् । यस्ता विषयमा नियमक निकायको ध्यान जानुपर्छ,’ उनी भन्छन्, ‘राज्य अभिभावक भएर उद्योगीलाई सघाउनुपर्ने हो । देश बलियो भए पनि हामी हुने हो । अर्थतन्त्र रहे पो व्यवसाय चल्छ ।’
उद्योगबाट उत्पादन भएको वस्तुको बजार ग्यारेन्टी सरकारले गरेमा उद्योगीहरू ठूला लगानी गर्न तयार रहेको दिलिपको भनाइ छ । त्यसबाहेक खुला सीमानामा कडाइ गर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘औद्योगिक हब’को रुपमा विकास भइरहेको रुपन्देहीलाई राज्यले लगानीको वातावरण बनाउन नसक्दा यहाँका उद्योगीले लगानी गर्न नसकेको दिलिपको गुनासो छ ।
विश्वमा निजी क्षेत्रबाट सञ्चालित उद्योग सयाैँ वर्षसम्म चलेका हुन्छन् । नेपालमा पनि यस्तै हुनुपर्ने उनको सपना छ । यसैले उनी पर्वत इँटा उद्योगलाई एउटा लामो यात्रा तय गर्ने उद्योगको रुपमा विकास गर्न चाहन्छन् । यद्यपि, इँटा उद्योग क्षेत्र पनि चुनौतीबाट टाढा नरहेको दिलिप दृष्टान्त दिन्छन् । उनी इँटाको बीमा नहुँदा हरेक वर्ष पानीका कारण काँचो इँटा व्यवसायीले ठूलो नोक्सान बेर्होनुपरेको दुःखेको पोख्छन् । ‘इँटा उद्योग जोखिमपूर्ण पेशा हो । भट्टीमा हाल्ने बेलाका इँटामा पानी पर्यो भने सबै नै काम नलाग्ने हुन्छ । एकैपटकमा लाखौंको क्षति पुग्छ,’ उनी भन्छन् । यस्तो जोखिम मोलेर उद्योग सञ्चालन गरेका उद्यागीका मर्का सरकारले बुझ्नुपर्ने उनको भनाइ छ ।
दिलिपले रुपन्देहीमा उद्योगीका समस्या बुझ्ने, सरल, इमान्दार व्यक्तित्वको छवि बनाएका छन् । एउटा उद्योगी सफल हुन प्यासनलाई पेशा बनाउने, काममा गम्भीरता, योजना अपरिहार्य, पूँजीको व्यवस्थापन, सेवाग्राहीप्रति ध्यान, सकारात्मक सोच र टीमवर्क हुनुपर्ने उनको जोड छ ।