०४ साउन २०८३, सोमबार
बालुवाटार बैठकको खुलासा

BREAKING: एमाले, माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नयाँ सरकार बनाउने सहमति

फागुन २१, २०८०
काठमाडौं
BREAKING: एमाले, माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नयाँ सरकार बनाउने सहमति

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र रास्वपासहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । आइतवार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले–माओवादी–रास्वपाको बैठकमा नयाँ गठबन्धन बनाएर जाने सहमति भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 

लोकान्तर डट्कमले आइतवार राति नै ‘वर्तमान गठबन्धन विघटनतर्फ, लिखित सम्झौताको तयारी’ भनेर समाचार ब्रेक गरेको थियो । फागुन १७ गते नै ‘राजनीतिमा नयाँ ट्वीस्टको संकेत: पुस १० ब्युताउने प्रयासमा ओली–प्रचण्ड !’ शीर्षकमा समाचार विश्लेषणसहित ओली–प्रचण्ड सहकार्य नजिक पुगेको विश्लेषण गरेको थियो ।  

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवतः सोमवार (आज)नै घोषणा हुने छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै कांग्रेससहितको पुरानो गठबन्धन भत्किएर एमाले–माओवादी र रास्वपासहितको नयाँ गठबन्धन बन्ने स्रोतले ठोकुवा गर्‍यो । 

एमाले–माओवादी लगायतका दलहरूबीच प्रचण्ड नै प्रधानमन्त्री रहने सहमतिसमेत भएको छ । एमाले, रास्वपा सहितको समर्थनमा २०७९ पुस ११ गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनको बेला कांग्रेससँग सहमति गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

झण्डै एकवर्षपछि गतवर्ष पुस १० कै समीकरण ब्यूँताउने सहमति भएको हो । नयाँ सत्तासमीकरण बनाउने बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उप-महासचिव वर्षमान पुन सहभागी थिए । यस्तै एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए । माओवादी र एमाले बैठक चलिरहेको समयमा रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए । 

आइतवार जनकपुरमा जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर ओली प्रचण्डसँगको वार्तामा बसेका थिए । तिक्तता मेटिँदै गएपछि ओली केही दिन अगाडि प्रचण्डकी छोरी रेनु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरको कार्यक्रममा सहभागी भएका थिए । पछिल्ला दिनमा बाक्लिएका भेटले ओली–प्रचण्डबीच नयाँ सत्ता सहकार्यको स्थिति बनेको हो । 

संक्रमणकालीन न्याय सम्बन्धी कानून (टीआरसी विधेयक)मा मिल्न बाँकी विषयमा सहमति जुटाउन प्रचण्डले सोमवार बिहान बालुवाटारमा पुरानो गठबन्धनका नेतालाई बोलाएका छन् । त्यसलगत्तै प्रचण्डले अहिलेको गठबन्धनका दलहरूलाई नयाँ परिस्थितिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो ।

सत्तासमीकरण फेरबदल गर्ने निर्णयमा पुग्नुअघि आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल बालुवाटारमा लामो छलफल गरेका थिए । 

ओली–प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष पौडेल, माओवादी उप-महासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो । दोस्रो तहका नेताले सहमतिको खाका तयार गरेका थिए । माओवादीसँग भएको सहमतिबारे जानकारी गराउन ओलीले सोमवार बिहान बालकोटामा एमालेको सचिवालय बैठक बोलाएका छन् । 

बालुवाटारमा गठबन्धन परिवर्तन गर्ने सहमति चलिरहेको समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने बताएका थिए । 

कांग्रेसप्रति प्रचण्डको असन्तुष्टि

सरकार सञ्चालन गर्न प्रमुख सत्ता घटक कांग्रेसले प्रयाप्त सहयोग नगरेको भन्दै प्रधानमन्त्री प्रचण्ड लामो समयदेखि असन्तुष्ट थिए । सरकारको काम कारबाही चुस्त बनाउन र जन आकांक्षा अनुसार अघि बढाएका कामलाई कांग्रेसले सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै आएका थिए । 

कार्यसम्पादन राम्रो नभएका मन्त्री हटाउन कांग्रेसले नमागेकोमा पनि प्रचण्डको असन्तुष्टि थियो । सरकारले शुरू गरेको सुशासन अभियानमा सहयोग गर्नुको साटो भाँड्न खोजेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

गठबन्धन कायम छँदै पार्टीको महासमिति बैठकमा आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसले बखेडा झिकेको प्रचण्डको आरोप छ । ‘जनयुद्ध’लाई बदनाम हुने गरी कांग्रेसले आन्तरिक बैठकमा दस्तावेज पेश गरेको विषयमा प्रचण्ड असन्तुष्ट थिए । 

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको वार्ता धेरै अगाडि बढिसकेपछि झस्केको कांग्रेसले प्रचण्डलाई फकाउन खोजेको बालुवाटार स्रोतले बतायो । धेरै ढिलो भइसकेको जवाफ प्रचण्डले कांग्रेस सभापति देउवालाई दिएको स्रोतको दाबी छ । कांग्रेससँग असन्तुष्ट प्रचण्ड पछिल्लो समय एमालेसँग निरन्तर सम्वादमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्