
मन्त्रीका विषयमा पटकपटक गुनासो गर्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नभएपछि अन्ततः सत्ता गठबन्धन नै फेरिएको छ ।
कांग्रेसलाई गठबन्धनबाट ‘आउट’ गरेपछि अघिल्लो वर्ष १० पुसमा बनेकै गठबन्धन ब्युँत्याउन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
प्रधानमन्त्रीले ओलीसँग निरन्तर वार्ता गरेर समीकरण नै बदल्नेसम्मको तयारी गरिरहेका थिए । प्रधानमन्त्रीको मुख्य निशानामा निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महत थिए । तर आइतवारमात्रै देउवाले प्रधानमन्त्रीसमक्ष महतलाई वैशाख १६ र १७ गते लगानी सम्मेलनसम्म राखिदिन आग्रह गरेको एक नेताले जानकारी दिए ।
‘हिजोसम्म लगानी सम्मेलन गर्न दिनुस् अनि अर्थमन्त्रीलाई हटाउँछु भनेर हाम्रो सभापतिले भन्नुभएछ,’ कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीको मुख्य निशानामा रहेका अर्थमन्त्रीलाई वैशाखसम्म राख्ने प्रस्तावपछि प्रधानमन्त्री प्रचण्ड देउवासँग फायर हुनुभएछ । यसपछि त झन् वैकल्पिक गठबन्धनको प्रयास छिटोछिटो विकास हुने अवस्था बन्यो ।’
आफूसँग बोलचाल हराएका र सामान्य चासोसमेत पूरा गर्न अस्वीकार गरेका अर्थमन्त्री महतलाई केही समय राख्ने प्रस्तावपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित बनेको ती नेता बताउँछन् ।
अप्रत्यासित रुपमा नयाँ सत्ता समीकरण टुटेको विषयमा कांग्रेस नेताहरूले भने अस्वाभाविक टिप्पणी गरिरहेका छन् । गठबन्धन टुटेकोभन्दा पनि कांग्रेसलाई गठबन्धनबाट निकालिएको टिप्पणी उनीहरूको छ ।
‘कतिपयले सत्ता गठबन्धन टुटेको टिप्पणी गरेका छन् । परिस्थिति हेर्दा गठबन्धन टुटेको नभइ कांग्रेसलाई निकालिएको हो,’ ती नेताले भने, ‘अन्तिमसम्म पनि के हुन्छ भन्ने थाहा नपाउने नेताहरू भएपछि राजनीतिमा अघिल्लो वर्ष १० पुसमा जे भयो अहिले पनि त्यही भएको छ ।’
अघिल्लो वर्षको १० पुसमा गठबन्धन भत्किएपछि त्यसलाई ट्रयाकमा ल्याउने पहल गरेको भन्दै उपसभापति पूर्णबहादुर खड्काले धेरै जस आफैं लिएका थिए । तर यसपटक कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका खड्काले नियमित प्रधानमन्त्रीसँग भेट गर्दा पनि फेरिन लागेको समीकरणबारे कुनै भेउ नपाएको नेताहरू बताउँछन् ।

‘अघिल्लो वर्ष माओवादी एमालेतिर लागेपछि फेरि ल्याउँदाको जस लिने कुरामा उपसभापतिले फुँदा जोडेर कसरी ट्रयाकमा ल्याए भनेर निक्कै क्रेडिट लिन खोज्नुभयो,’ ती नेता भन्छन्, ‘यसपटक नियमित प्रधानमन्त्रीसँग टचमा रहेर पनि उहाँले किन समीकरण बिग्रँदै गएको थाहा पाउनुभएन ? सधैं ठूला गरेर मात्रै हुन्छ ?’
खड्कासहितका केही नेताले देउवालाई आइतवार बेलुकासम्म पनि नयाँ समीकरण बन्नेसम्मको घटनाक्रम नबनेको ‘बिफ्रिङ गरेका थिए । देउवाले पनि मन्त्रीहरूलाई सचेत मात्रै बनाएका थिए । यसै ‘ब्रिफिङ’पछि देउवाले सोमवार बिहान उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार पठाएका थिए । तर आइतवार राति नै प्रचण्ड र ओलीबीच समीकरण फेर्ने सहमति भइसकेको थियो । देउवाका दूतहरूको अन्तिम प्रयासपछि प्रचण्डले ‘परिस्थिति धेरै फेरियो, अब ढिलाइ भइसक्यो’ भन्दै देउवाका उनीहरूलाई फर्काइदिएका थिए ।
कांग्रेसले पाएको धोकाबारे मंगलवार हुने कार्यसम्पादन समितिको बैठकमा छलफल हुने ती नेता बताउँछन् ।
‘माओवादीले धोका दिन सक्छ भनेर मैले जाने बुझेरै भन्दा केही नेता ‘धेरै बोलिस्’ भन्नेसम्मका देखिए । अर्को पार्टीमा भोट हाल्ने वातावरण नबनाउँ भन्दा विरोध भयो,’ ती नेता भन्छन्, ‘अब के–के भएको मंगलवार बस्ने कार्यसम्पादन समितिको बैठकमा समीक्षा होला ।’
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री महतमाथि सुशासन र कार्यसम्पादनबारे प्रश्न उठाएपछि गठबन्धनमा दरार आएको ती नेताको दाबी छ । कांग्रेस महासमितिका ‘डकुमेन्ट’का विषय मुख्य समस्या नभएको उनको भनाइ छ ।
देउवा निकटकै अर्का एक केन्द्रीय सदस्यले पनि समीकरण फेर्ने तयारी नबुझेर गुमराहमा रहनु अर्को कमजोरी रहेको स्वीकारे ।